चाडपर्व लक्षित प्रहरीको विशेष सुरक्षा योजना

628
views

काठमाडौँ, असोज १५ दशैँ, तिहार, छठ र नेपाल सम्वतमा राजधानी काठमाडौंलाई सुरक्षित पार्न तीन हजार ५३५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडाँैंले आइतवार दुई महिना लामो विशेष सुरक्षा योजना–२०७५ सार्वजनिक गर्दै, चाडवाढको समयमा अपराध हुन नदिन र सुरक्षा ब्यवस्था प्रभावकारी बनाउन विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिएको छ ।

काठमाडाँैं जिल्लामा नियमित रूपमा हुने अपराधभन्दा चाडवाडमा बढी अपराध हुने गरेको जानकारी दिँदै काठमाडाँै प्रहरी परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार लामाले आर्थिक पक्षसँंग सम्वन्धित अपराध नियन्त्रणमा विशेष जोड दिइएको बताउनुभयो ।
चोरी, डकैती, पकेटमारी, सिक्री थुत्नेदेखि घर तथा सम्पत्ति, सरकारी तथा गैरसरकारी कार्यालय, शक्तिपिठ, मठ मन्दिर, सार्वजनिक यातायात, बैंक तथा वित्तीय संस्था, ब्यापारी केन्द्र, होटल तथा गेष्टहाउस र उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा निगरानी बढाइएको पनि उहाँले बताउनुभयो ।
काठमाडाँैंको मुख्य प्रवेश नाका नागढुङ्गा, टोखा, मुड्खु, रामकोट, फर्पिङ लगायतका सात क्षेत्रमा कुकुर सहितको नियमित सुरक्षा चेकजाँच, लामो तथा छोटो दुरीको सवारी साधनमा हुने टिकट विक्री वितरणमा ठगी नियन्त्रण गर्न १० स्थानामा नागरिक सहायता कक्षा स्थापन गरिएको छ ।
सुरक्षाब्यवस्थालाई प्रभावकारी बनाउन काठमाडौंँ जिल्लालाई १४ भागमा विभाजन गरी ६० वटा पैदल गस्ती, ६१ पिकेटिङ (भ्यान सहित गस्ती), ३६ वटा साइकल गस्ती, ३० वटा मोटरसाइकल गस्ती र २४ वटा मोटरकार सहितको गस्ती नियमित परिचालन गरिने जानकारी परिसरले दिएको छ ।
त्यस्तैं, सादा पोशाकमा ७० जनाको छुट्टाछ्टै समूह, ३० स्थानमा ‘सिल एण्ड सर्च’ अर्थात् शंकास्पद स्थानमा एक्कासी जाँच, ३० स्थानमा ‘कर्डन एण्ड सर्च’ अर्थात् घर होटल तथा लज र ब्यापारिक भवनमा छापा मार्ने लगायतका छन् ।
त्यस्तै, तीस स्थानमा एम्वुसिङ्ग गर्ने अर्थात् सपिङ मल तथा व्यापारिक क्षेत्र र बसपार्कमा चारैतिरबाट घेरा हाली शंकास्पद ब्यक्ति पक्राउ गर्ने र २४ स्थानमा नाकाबन्दी गर्ने योजना छ ।
बस टिकटमा कालोवजारी, यात्रुमाथि ठगी र क्षमताभन्दा बढी याुत्र राख्ने विरुद्ध प्रहरी सहायता कक्ष स्थापन राजधानीका कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ वसपार्क, गौशाला, चावहिल, कोटेश्वर र हलचोकमा ट्राफिक प्रहरीसंग सहकार्य गर्ने गरी दुई–दुईजना प्रहरी परिचालन गरिएको परिसरले जनाएको छ ।
चाडवाडमा चोरी, लुटपाट, डकैती, पकेटमारी, विषाक्त मदिरा सेवन, झैझगडा, गुण्डागर्दी, जुवा तास, कालोवजारी, दुर्घटना र ठगी बढी हुने भएकाले यस्ता अपराधमा विशेष निगरानी राखिएको जानकारी पनि उहाँले दिनुभयो ।
परिसरका अनुसार, यसवर्षको चाडवाडलाई शान्त, सुरक्षित र दुर्घटनारहित बनाउन सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक सेवा केन्द्र, नागरिक समाज, विभिन्न क्लव, टोलसुधार समितिसंँग सहकार्य गरी टोलटोलमा जनचेतनामूलक र सुरक्षात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।
त्यसका लागि प्रत्येक टोल तथा गल्लीमा सचेतनामूलक पर्चा वितरण गर्नुका साथै माइकिङ गरिने जनाइएको छ । दशैँमा कतिपय जन्मघर जाने भएकाले घर कोठा तथा पसल, सरकारी तथा सार्वजनिक सम्पतिको सुरक्षाका लागि पनि प्रहरी परिचालन गरिएको छ । रासस