प्रचण्ड र नेपालले नछाडे भूसाल एकतामा नजाने

10
views

काठमाण्डौ, १२, कार्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एकताको सँघारमा छन् । दुई दलका नेताहरूबीच एकतापछिको पार्टीको नामका बारेमा समेत छलफल भइरहेको छ । तर एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल लगायतका केही नेताले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बहिर्गमन नभए एकता प्रक्रियामा सहभागी नहुने बताएका छन् ।

महासचिव भूसाल लगायतका नेताले केन्द्रीय कमिटीको बैठकमा यसबारे कुरा उठाउँदै प्रचण्ड–नेपालको बहिर्गमनको खाका प्रस्तुत नभए एकतामा नजाने उनीहरूको योजना रहेको छ ।

अहिलेको समाजवादी पार्टीभित्रका तमाम समस्या र माओवादीभित्रको समस्याको समाधान नगरी गरिने एकताले समस्या झन् बढाउने र त्यसले वाम आन्दोलनलाई, आम कार्यकर्तालाई उत्साह प्रदान नगर्ने भूसालको निचोड छ ।

एकतापछिको पार्टीमा प्रचण्ड संयोजक र नेपाल सह–संयोजक हुने कुरा लगभग निश्चित भइसकेको एकता वार्तामा रहेका नेताहरू दाबी गर्छन् ।

एकताको विषयमा निर्णय गर्न एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बुधबारदेखि बस्दैछ । कात्तिक १४ गतेसम्म बस्ने बैठकले औपचारिक निर्णय गरेलगत्तै माओवादीसँग एकता हुने सचिव सोमप्रसाद पाण्डेको भनाइ छ ।