हो महासय !
म एक फोहरी किसान हुँ
जब मैले धुलो र हिलोमा डुबुल्की मार्दा
सुनजस्तै पहेँलपुर धानका बाला झुलाउन
मेरो शरीरबाट डुङ्डुङ्ती
गन्हाउने पसिना निस्कन्छ
र, पसिनामा टाँसिएर धुलो
मैलो हुन्छ शरीर
मैलो शरीर बोकेर
खेतका धाँजाजस्तै फाटेका मेरा खुट्टा
हिलो लथपतीएको कपडासँगै
तिम्रो सहर पस्छन्
करोडौँ मूल्यका चिल्ला गाडीमा
सुलुत्त हुईंकिने तिम्रा आँखामा
म फोहरी देखिन्छु
यो सही हो ।
हो महासय !
म एक फोहरी किसान हुँ
जोवनका कैयौं दशक गुज्रिए
हिलो, धुलो, वर्षा र झरी हुँदै माटोमा
माटोमै सुत्छु,
खान्छु र पिउँछु
माटो लागेका फोहरी हातले
एक मुट्ठी सातु फाँको हाल्छु
सातुसँगै पस्छ मेरो पेटभित्र
अलिअलि माटोका धुलकण
शरीरका अङ्गप्रत्याङ्ग माटोमय बन्छन् ।
माटोसँगै मुछिएको शरीरले
फलाएका मकैका घोगा
आगोका राप र धुवाँसँगै धुस्रेफुस्रे भएका
ठाउँकुठाउँ भ्वाङ परेका कपडाले बेरिएका
फोहरी महिलाहरुले
तिम्रो सहरका फुटपाथमा हिंड्ने
‘असोभनीय’ भोका यात्रुहरुको
भोक मेटाउन दिनरात खटिन्छन्
तिम्रो सहर फोहर र कुरुप पारिदिएको झोंकमा
तिम्रा पहरेदारहरुले ताण्डवनाच देखाउँदै
फोहरी किसानका बालबच्चाका पेटमा छुरा धस्छन्
हो त्यतिबेला म फोहरी मात्र हैन
असाध्य कुरुप पनि देखिन्छु
तिम्रो गगनचुम्बी महलको कौसीबाट
र्याप अलाप्दै सहरतिर
दृष्टिगोचर तिम्रा नयनहरुमा ।
लेखकः हिरामणी दुःखी










