सिरहाबाट सि.के राउतका १० कार्यकर्ता पक्राउ

659
views

सिरहा, असोज–२१ स्वतन्त्र मधेश गठबन्धनका संयोजक सि.के. राउत समर्थक १० जनालाई सिरहा प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको छ ।

स्वतन्त्र मधेश गठबन्धनका राम मनोहर यादवको प्रहरी हिरासतमा भएको मृत्युको घटनाको छानबिन गर्न मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र लिएर गएका गठबन्धनका कार्यकर्ताहरु पक्राउ परेका हुन् । प्रमुख जिल्ला अधिकारीले गठबन्धनका कार्यकर्ताहरुले लिएर गएको ज्ञापन–पत्र बुझ्न अस्वीकार गरेपछि हुलदङ्गा गरेको आरोपमा एक महिलासहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।
सिरहाबाट पक्राउ पर्नेहरुमा सतिला यादव, मनिष यादव, बालेश्वर यादव, शुभलाल महतो, राजकुमार यादव, जितन यादव, ज्ञान कामती, पप्पु यादव, राजकुमार यादव र रामसुगन यादव रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायव उपरीक्षक खरेलले बताए ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरेर मुद्दा चलाइने प्रहरीले जनाएको छ । तारेखका लागि सिरहा जिल्ला अदालत पुगेका गठबन्धनका संयोजक राउतसँगै सिरहा पुगेका कार्यकर्ताहरु राउतले तारेख बुझेर फर्किएपछि ज्ञापन-पत्र बुझाउन गएका थिए ।