दसैँ विदामा पनि बन्दीप्रत्यक्षीकरण मुद्दा हेरिने

586
views

काठमाडौँ, २५, असोज । सर्वोच्च अदालतले दसैँ विदाको अवधिमा पनि बन्दीप्रत्यक्षीकरण मुद्दा हेर्ने भएको छ । बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि सर्वोच्चले न्यायाधीश तोकेको छ । यस्तै, मुलुकी फौजदारी संहिताले गरेको नयाँ व्यवस्था अनुसार अभियुक्तलाई पक्राउ पुर्जी जारी गर्ने व्यवस्थाका लागि पनि अधिकार तोकिएको छ ।

असोज २४ गतेदेखि कात्तिक ७ गतेसम्म अदालत बन्द रहनेछ । बन्दका अवधिमा बन्दीका मुद्दा र पक्राउ पुर्जी भने जारी हुनेछ । सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले मुद्दा हेर्ने न्यायाधीश तोकिएको बताए । ‘विजया दशमी र शनिबारबाहेक अन्य दिन दैनिक ११ बजेदेखि ३ बजेसम्म मुद्दा हेर्नका लागि न्यायाधीश तोकिएको हो ।

सर्वोच्चको कार्यतालिका अनुसार बुधबार न्यायाधीश प्रकाशमानसिंह राउतलाई बन्दीको मुद्दा हेर्ने अधिकारी तोकिएको थियो । तर, कुनै पनि मुद्दा पेसीमा तोकिएन । यस्तै, बिहीबार र शुक्रबारका लागि पनि न्यायाधीश राउतलाई नै मुद्दा हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

यस्तै असोज २८ गते आइतबार न्यायाधीश केदारप्रसाद चालिसेलाई मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ । असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ ।

यस्तै, वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई कात्तिक ४ गते मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ । कात्तिक २ र ३ गते भने अदालतले बन्दीका मुद्दा पनि सुनुवाइ गर्ने छैन । कार्यतालिका अनुसार कात्तिक ५ गतेदेखि ७ गतेसम्म न्यायाधीश सपना प्रधान मल्ललाई मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ ।

सर्वोच्च बाहेक पनि बन्दीका मुद्दा हेर्न र पक्राउ पुर्जी जारी गर्न अनुमति पाएका अदालतले मुद्दा हेर्ने र पुर्जी जारीका लागि व्यवस्था गर्नेछन् । मुलुकी फौजदारी कार्य्विधि संहिता २०७४ दफा (९) बमोजिम प्रहरीले अभियोग लागेका व्यक्ति पक्राउ गर्नुअघि मुद्दा हेर्ने अधिकारीको अनुमति लिनुपर्नेछ । यस्तै, मुद्दा हेर्ने अधिकारीको अनुपस्थितिमा कार्यरतमध्ये उच्च ओहोदाको कर्मचारीले पनि उक्त अधिकार प्रयोग गर्न पाउने व्यवस्था छ ।