समृद्ध मुलक निर्माणको पहिलो आधार शान्तिसुरक्षा–प्रधानमन्त्री ओली

951
views

काठमाडौँ, २५, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले राज्यको आन्तरिक सुरक्षाको मेरुदण्डका रुपमा आफूलाई स्थापित गर्दै संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना गर्नका लागि सञ्चालित मिसनहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तराष्ट्रिय स्तरमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले तथ्याङ्कअनुसार प्रहरीले ९० प्रतिशत घटनाको सफलतापूर्वक ढङ्गले अनुसन्धान गरेर अभियुक्त पत्ता लगाएपनि यसलाई पर्याप्त मान्न नसकिने बताउनुभयो । “तथ्याङ्कले राम्रो अनुसन्धान गरेको देखाएपनि एउटा संवेदनशील मुद्दामा तपाईहरु यदि असफल हुनुभयो भने यसले पु¥याउने चोटलाई सजिलै भरपुर गर्न सकिँदैन”, उहाँले भन्नुभयो ।

उहाँले प्रहरीलाई व्यावसायिक र सुदृढ सङ्गठन बनाई विदेशस्थित नेपालका विभिन्न दूतावासमा राख्ने जनशक्ति व्यवस्थापनमा नेपाल सरकार गम्भीर रहेको बताउनुभयो । सङ्घीयता कार्यान्वयनमा नेपाल प्रहरीले खेलेको भूमिका मुलुक र जनताका लागि महत्वपूर्ण भएको उहाँको भनाइ थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई नमूना सङ्गठनका रुपमा विकास गर्न आफू लागिरहेको बताउनुभयो । हरेक प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सक्षम छ, घटनाको अनुसन्धानका लागि समय र धैर्यता आवश्यक रहेको खनालले बताउनुभयो ।

गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे गृहप्रशासन सुधार योजनालाई कार्यान्वयन गर्दै आगामी दिनमा नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रहरी प्रधान कार्यालय लागिरहेको उहाँको भनाइ थियो । ६३ औँ प्रहरी दिवसका अवसरमा आज ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहले राजनीतिक क्षेत्रबाट प्रहरी सङ्गठनलाई अलग राख्न सकेमा मात्र प्रहरीले सोचेअनुसारको काम गरेर नतिजा दिनसक्ने बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले कामको सिलसिलामा यस वर्ष वीरगति प्राप्त गर्ने प्रहरी कर्मचारीका आश्रित परिवारलाई कदरपत्र प्रदान गर्नुभएको थियो । यस्तै, प्रहरी श्रीमती सङ्घका अध्यक्ष प्रमिला खनालले वीर प्रहरीका परिवारलाई राहत प्रदान गर्नुभएको थियो । कार्यक्रममा यस वर्ष कार्यालय सहयोगी हरिबहादुर गुरुङ, महन्थ चौधरी, प्रहरी जवान राजकुमार आले, शेरसिंह साउद, सुशील बानियाँ, प्रदीपकुमार यादव, रामप्रसाद पौडेल, विष्णुप्रसाद न्यौपाने, प्रहरी हवल्दार गजेन्द्रसिंह ठगुन्ना र प्रहरी सहायक निरीक्षक देवेन्द्रसिंह धामीले कामको सिलसिलामा वीरगति प्राप्त गर्नुभएको जानकारी दिइयो ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नी खरेल, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई तथा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि उपस्थित हुनुुहुन्थ्यो ।