कम्युनिष्ट सरकार असफल बन्दै गएको छ–सिंह

1171
views

नुवाकोट, २५ असोज । नेपाली काँग्रेसका महामन्त्री एवं प्रभावशाली नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा सरकार दिनप्रतिदिन असफल बन्दै गएको बताएका छन् । नेता सिंहले दुई तिहाई बहुमतको नेकपा सरकार मुलुकको शान्ति सुरक्षा कायम गर्न र आकासिंदो महंगी नियन्त्रण गर्न असफल बन्दै गएको बताए । नेता सिंहले नेपाली काँग्रेस जिल्ला समिति नुवाकोटले यहाँ आयोजना गरेको विजयादशमी २०७५ को शुभकामना आदानप्रदान कार्यक्रममा कम्युनिस्ट सरकारले जनता समक्ष प्रतिवद्धता गरेका बाचाहरु पुरा गर्न नसकेको आरोप लगाए ।

नेता सिंहले मुलुकमा दुईतिहाई बहुमतको कम्युनिष्ट सरकार भएपनि आम नागरिकले असुरक्षित महसुस गरेको, अराजकता, अपहरण, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु बढेकोप्रति चिन्ता व्यक्त गरे । उनले एकातिर जनजीवन अस्तव्यस्त बन्नुको साथै अर्कातिर आकासिंदो महंगीले जनता मारमा परेको भन्दै सरकारका आठ महिना असफलतातर्फ धकेलिएको आरोप लगाए ।

नेता सिंहले दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारबाट जनता आक्रान्त परेको बताउँदै नेपाली काँग्रेसका सबै नेता कार्यकर्ताले मुलुकलाई समृद्धिको दिशातर्फ उन्मुख गराउनुपर्नेमाजोड दिए । उनले काँग्रेस भित्रको असतय र सरकारले गरेका असत्यको विरोध गर्दै जसरी विजया दहशमी सत्यको दिशामा छ तयसै गरी देशलाई सत्यको बाटोमा अगाडी लैजानुपर्ने बताए ।

नेता प्रकाशमान सिंहले आम पार्टी कार्यकर्ता र जनताले काँग्रेस एकढिक्का भएको हेर्न चाहेको बताउँदै पार्टीलाई एक बनाउन सबै आ–आफ्नो ठाउँबाट जुट्नुपर्ने समय आएको बताए ।