प्युठानमा मौरी चरनको सिजन सुरू

1028
views

प्यूठान । प्यूठानमा यसवर्ष मौरी चरनको सिजन शुरू भएको छ । व्यावसायिक रूपमा मेलिफेरा जातको मौरीपालन गर्दै आएका जिल्लाबाहिरका व्यवसायीले जिल्लाका विभिन्न क्षेत्रमा चरनका लागि मौरी ल्याउन शुरू गरेका छन् । सर्लाही, बारा, चितवन लगायतका क्षेत्रबाट व्यवसायीले चरनका लागि मौरी ल्याउने गरेका छन् ।

मौरीका लागि राम्रो चरन क्षेत्र प्यूठान भएको सर्लाहीका उद्यमी हेमराज देवकोटाले बताए । जिल्लाको हंसपुर, ढुङ्गेगढी, कोचिवाङ, तिराम, माझकोट, जुम्रीकाँडा, चुँजा लगायत क्षेत्रमा मौरीपालन गर्ने गरिन्छ । देवकोटा मौरीपालक उद्यमी हुन् ।

अर्का मौरीपालक कृषक एवं ऐरावती बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिन्तबहादुर सोमैले पनि वार्षिक १३÷१४ क्विन्टल मह बिक्री गर्ने गरेको बताए ।

जिल्लामा दुई दर्जन बढी उद्यमीले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । जिल्लाभर ४५० उन्नत घार रहेको छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालय प्यूठानका अनुसार मुढे घारसहित एक हजार पाँच सय मौरी घार छन् ।

जिल्लाबाट वार्षिक उत्पादित ३५ मेट्रिक टन मह बिक्री हुँदैआएको छ । काठमाडौँ, बुटवल, नेपालगञ्ज लगायत क्षेत्रमा बिक्री हुने गरेको तथ्याङ्क छ ।