हिमआँधीमा बेपत्ता भएका नौ जनाको शव भेटियो

990
views

म्याग्दी, २८ असोज । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए ।

प्रहरीका अनुसार असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिमआँधीमा परेर दक्षिण कोरियाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु भएको छ ।

यसैगरी धवलागिरि गाउँपालिका–१ गुर्जाका २९ वर्षीय नेत्रबहादुर छन्त्याल, सङ्खुवासभाको हटियाका ३९ वर्षीय छिरिङ भोटे, सङ्खुवासभाकै भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पा साङबु भोटे र सोलुखुम्बू घर बताउने फुर्वा भोटेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेनीदेखि चार घण्टा गाडी र आठ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जा गाउँदेखि थप पाँच घण्टा हिँडेपछि आधार शिविर पुग्न सकिन्छ । पर्यटन विभागबाट ६० दिनको अनुमति लिएर उनीहरु गुर्जा हिमालको पहिलो पटक आरोहण गर्न आधार शिविर पुगेका थिए ।