जीप दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

936
views

जुम्लाः जुम्लाको बड्कीमा बुधबार जीप दुर्घटना हुँदा एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् । जुम्ला सदरमुकामदेखि सिंजा जाँदै गरेको बा १ ज ८६५ नम्बरको जीप हिमा गाउँपालिका–१ बड्कीमा दुर्घटना हुँदा नाबालिकासहित तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख सीताराम रिजालका अनुसार सुर्खेतका लागि छुटेको बुलबुले यातायात प्रालीको जीप बिरामी लिन नराकोट पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा तिला गाउँपालिकाका २६ वर्षीय लाले शार्की, उनकी २५ वर्षीया पत्नी जानकी सार्की र तीन वर्षीया छोरीको मृत्यु भएको हो ।

दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको उनले बताए । दुर्घटनाग्रस्त जीप सडक भन्दा झण्डै २ सय मिटर तल खसेको छ ।