लिभरपुल र बार्सिलोना विजयी, पिएजजी र नापोली बराबरीमा

930
views

काठमाडौं । गएराति भएको युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभरपुल र बार्सिलोना विजयी भएका छन् । समूह सी को खेलमा इङ्लिस क्लब लिभरपुलले सर्वियाको रेडस्टार बेलग्रेडलाई ४–० ले हराएको थियो ।

घरेलु टोलीलाई विजयी गराउन मोहोमद सालाहले दुई गोल गर्दा रोबर्टो फर्मिनो र सादियो मानेले एक–एक गोल गरे । यही समूहको अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ईटालीको नापोलीसँग २–२ गोलको बराबरी खेल्यो ।

च्याम्पियन्स लिगकै अर्को खेलमा स्पेनको बार्सिलोनाले ईटालीको ईन्टर मिलानलाई २–० ले पराजित गर्यो । लियोनल मेस्सी बिनाको बार्सिलोनालाई विजयी गराउन राफिन्हा र योर्डी अल्बाले एक एक गोल गरे ।

समुह बी कै अर्को खेलमा इङ्ल्यान्डको टोटनह्याम हट्सपरले नेदरल्याण्ड्सको पि.एस.भि सँग २–२ गोलको बराबरीमा चित्त बुझायो । यसैगरी समुह ए को खेलमा जर्मनीको बोरुसीया डर्टमण्डले स्पेनको एथ्लेटिको मड्रिडलाई ४–० ले हराउँदा फ्रान्सको मोनाको र बेल्जियमको क्लब ब्रुजले १–१ गोलको बराबरी खेलेका छन् ।

च्याम्पियन्स लिग समुह डि को खेलमा पोर्चुगलको एफ.सी पोर्टोले रुसको लोकोमोटिभ मस्कोलाई ३–० ले हराउँदा टर्कीको गालातसारे र जर्मनीको शाल्काले गोलरहित बराबरीमा चित्त बुझाए ।