पत्रकार हत्यामा साउदी अरबको ‘ढाकछोप’प्रति ट्रम्पको टिप्पणी

887
views

कार्तिक, ८ गते । पत्रकार जमाल खशोग्गीको हत्याबारेको साउदी अरबको प्रतिक्रिया आफूलाई बचाउन ढाकछोप मात्र भएको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । राष्ट्रपति ट्रम्पको त्यस्तो भनाइ आएको केही समयपछि विदेशमन्त्री माइक पोम्पेओले घटनामा संलग्न भएकालाई अमेरिकाले सजाय दिने बताएका छन् । पोम्पेओले सन्दिग्ध २१ जनाको भिसा अमेरिकाले रद्द गर्न लागेको पनि जानकारी दिए ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ‘उनीहरूको एकदम नराम्रो सोचाइ रहेछ, त्यो एकदम नराम्रो तरिकाले गरे र इतिहासकै त्यो सबैभन्दा नराम्रो ढाकछोप रह्यो’ भन्ने प्रतिक्रिया दिएका छन् ।

यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्गीको ज्यान लिने योजना हत्या भएको दिनभन्दा निकै दिन अगाडि नै भएको आशङ्का व्यक्त गरेका थिए ।

उनले अक्टोबर २ गते इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र खशोग्गीको पूर्व नियोजित र ‘क्रुर‘ हत्या भएको भन्ने देखाउने टर्कीसँग बलियो प्रमाण रहेको दाबी पनि गरेका थिए ।

खशोग्गीको मृत्यु दुर्घटनावश भएको हुनसक्ने भन्ने सभावनालाई खण्डन गर्दै उक्त घटनाका सन्दिग्धहरू विरुद्ध इस्तानबुलमा मुद्दा चलाउने तयारी भएको उनको भनई छ ।

उता साउदी अरबले पनि पत्रकार जमाल खशोग्गीको हत्यारा जो भए पनि उसलाई कडा कानूनी सजाय हुने बताउँदै आएको छ ।

गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा खशोग्गीको हत्यामा संलग्न जो कोही भए पनि उसलाई कानूनी दायरामा ल्याइने साउदी अरेबियाले जानकारी दिएको छ ।

खशोग्गीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो । तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ ।