ट्रम्पलाई चीनले व्यंग्य गर्दै भन्यो ‘सुरक्षाका लागि चिनियाँ कम्पनीको हुवावे फोन प्रयोग गर्नू’

1117
views

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिफोन वार्तालाई चीन र रुसले ट्यापिङ गरेर सुन्ने गरेको भन्ने खबरमाथि चीनले रमाइलो व्यङ्य गरेको छ । बुधबार अमेरिकी पत्रिका न्यूयोर्क टाइम्समा एउटा खबर प्रकाशित भएको थियो । खबरमा अमेरिकी खुफिया एजेन्सीको रिपोर्टको हवलादिँदै, ट्रम्पले मोबाइलमार्फत गरेका कुराकानी चीनका जासुसले सुन्ने गरेको बताइएको छ । साथै रुसका जासुसले पनि उनको टेलिफोन कुराकानीको निगरानी गरिरहेको दाबी गरिएको छ ।

ट्रम्पको सेलफोन सुरक्षित नभएको भन्दै उनलाई सचेत गराइएकोसमेत खबरमा दाबी गरिएको छ । उनले प्रयोग गर्ने एप्पलको आइफोनमार्फत प्रविधिको प्रयोग गरेर चीन र रुसका जासुसले ट्रम्पका हरेक वार्तालापको निगरानी गर्ने गरेको बताइएको छ ।

न्यूयोर्क टाइम्सको यो खबरलाई चीनले अस्वीकार गरेको छ । यो भ्रामक खबर भएको बताएको छ । चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा चीनले ट्रम्पको आइफोन ट्पापिङ गरेको भन्ने खबर गलत भएको स्पष्ट पारिन ।
उनले खबरलाई अस्वीकार मात्रै गरिनन् ट्रम्पमाथि रमाइलो व्यङ्ग्य पनि गरिन । यदि अमेरिकालाई आइफोनमाथि विश्वास नभए ट्रम्पले चिनियाँ कम्पनीको ‘हुवावे’ फोन प्रयोग गर्न सुझाव दिइन ।

चुनयिङले भनिन्‘ यदि अमेरिकालाई ट्रम्पको आइफोन मनिटरिङ भइरहेको भन्ने चिन्ता भए, उनी हुवावे मोबाइल फोन प्रयोग गर्न सक्छन्’
चुनयिङले ट्रम्पलाई सुरक्षाका लागि सबै आधुनिक सञ्चार उपकरण प्रयोग नगर्न सुझाव दिँदै व्यंग्य गरिन ।
‘ट्रम्पको फोन वार्ता सुन्दै चीन र रूस’
अमेरिकी गुप्तचर संस्थाले राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रत्येक फोनवार्ता चीन र रूसले सुन्ने गरेको खुलासा गरेको छ । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले गुप्तचर संस्थाका वर्तमान र पूर्वअधिकारीले यस्तो प्रतिवेदन दिएको उल्लेख गरेको छ ।

उक्त पत्रिकाले ती अधिकारीको नाम भने उल्लेख गरेको छैन । ती अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, ‘चीनका जासुसले राष्ट्रपति ट्रम्पको फोन संवाद सुन्ने गरेका छन् । यसबाट उनीहरूले ट्रम्पको काम गर्ने तरिका थाहा पाउने र अमेरिकी नीति प्रभावित गर्ने काम गर्छन् ।’ अमेरिकी राष्ट्रपतिका भावी योजनाबारे विश्लेषण गरी आफूलाई फाइदा हुने गरी रणनीति बनाउने उनीहरूको दाबी छ । प्रतिवेदनअनुसार ट्रम्पले आफ्ना मित्रहरूसँग कुरा गर्न आइफोन प्रयोग गर्ने गरेका छन् ।

अमेरिकी अधिकारीले उनलाई आइफोन प्रयोग नगर्न पटक पटक आग्रह गरे पनि ट्रम्पले बेवास्ता गर्दै आएका छन् । उनीहरूले यस्ता महत्वपूर्ण फोन ल्यान्डलाइनबाट गर्न आग्रह गर्ने गरेका छन् । अमेरिकी गुप्तचर संस्थाले चीन र रूसले आफ्ना जासुसमार्फत ट्रम्पको फोनवार्ताका साथै अमेरिकी विदेशी अधिकारीको फोन पनि सुन्ने गरेको दाबी गरेको छ । रूसले भने ट्रम्पका गतिविधिबाट आफूलाई नोक्सान नहुने निष्कर्ष निकालेको पत्रिकामा उल्लेख छ । यस घटनाबारे अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।

शंकास्पद वस्तुको अनुसन्धान शुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा राजनीतिक हिंसाको कुनै स्थान नभएको बताएका छन् । उनले भने, ‘यो बेला हामी सबै एकजुट हुनुपर्छ । हामीले अमेरिकी राजनीतिमा हिंसाको कुनै ठाउँ नभएको सन्देश दिनुपर्छ ।’ यो घटनालाई आफूले निकै गम्भीर रूपमा लिएको र यसका दोषीलाई कुनै उन्मुक्ति नदिइने उनले स्पष्ट पारे ।

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्व्विदेशमन्त्री हिलारी क्लिन्टन तथा अन्य डेमोक्र्या्टिक पार्टीका नेता र अमेरिकी टेलिभिजन संस्था सीएनएनको कार्यालयमा पाइप बम पठाइएको थियो । अमेरिकी नागरिकको सुरक्षा आफ्नो प्राथमिकता भएको उनले स्पष्ट पारे । प्रथम महिला मेलानिया ट्रम्पले पनि उक्त घटनाको निन्दा गर्दै यसलाई कायरताको संज्ञा दिएकी छन् । न्युयोर्क प्रहरी विभागका कमिस्नर जेम्स पी ओनिलले यसको अनुसन्धान भइरहेको बताएका छन् ।

आगामी नोभेम्बर ६ मा हुन लागेको मध्यावधि निर्वाचनपूर्व हिंसालाई प्रोत्साहित गर्ने गरी यस्तो ाकम भएको अनुमान गरिएको छ । अमेरिकामा मध्यावधि चुनाव नजिकिँदै गर्दा अमेरिकी सुरक्षा व्यवस्थामा समेत चुनौती देखिएका छन् । टेलिभिजन च्यानल सीएनएनको कार्यालय समेत रहेको न्युयोर्क्स्थित टाइम वार्नर भवनमा पनि त्यस्तै शंकास्पद वस्तु भेटिएपछि समाचारकक्ष खाली गरिएको थियो । यसअघि गत सोमबार पनि उदारवादी परोपकारी एवं अर्बपति जर्ज सोरोसको निवासमा बम भेटिएको थियो ।

अमेरिकाका वरिष्ठ पूर्वअधिकारीहरूलाई पठाइने चिठी तथा पार्सल नियमित रूपमा जाँच हुने गरेको र त्यसैक्रममा प्राविधिकहरूले शंकास्पद विस्फोटक पदार्थ फेला पारेको थिए । यस्ता शंकास्पद वस्तुको कम्तीमा सात पोका भेटिएको थियो । अमेरिकी सुरक्षा निकाय सिक्रेट सर्भिसले जारी गरेको विज्ञप्तिअनुसार २३ अक्टोबरमा भेटिएको त्यस्तो वस्तु हिलारी क्लिन्टनको नाममा थियो । त्यसपछि अक्टोबर २४ को बिहान त्यस्तै वस्तु पूर्वराष्ट्रपति बाराक ओबामाको निवासको ठेगानामा पठाइएको थियो । अझैसम्म कसैले घटनाको जिम्मेवारी लिएको छैन र यस घटनासँग सम्बन्धित कोही पनि पक्राउ परेका छैनन् ।