राष्ट्रपति भण्डारी कतार प्रस्थान

775
views

राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चारदिवसीय औपचारिक भ्रमणमा प्रस्थान गरेकी छिन् । कतारका अमिर शेख हमाद बिन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गरेका छन् । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव, नेपाल सरकारका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सरकारका उच्च पदाधिकारी विमानस्थलमा उपस्थित थिए ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलगायत रहेका छन् । राष्ट्रपति कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रपतिको भ्रमणको अवसरमा नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ गर्ने काम हुनेछ । कृषि तथा पशुपक्षी विकाससम्बन्धी, स्वास्थ्यसम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कूटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।