भुकम्पको चारबर्षमा एकहजार चारसय घर निर्माण

1059
views

महेन्द्र जिसी
पर्वत, १२, कात्तिक । पर्वतमा भूकम्पपछिको पुननिर्माण अन्तर्गत एक हजार ४ सय घर निर्माण भएका छन् । पून निर्माणका लागि विभिन्न खालका प्राविधिक झण्झटले सुस्ताएको छ । भुकम्प पीडितको लगत संकलन, सुचिकृतमा भएको बिबाद, मापदण्ड, प्राविधिकको अभाव, दक्ष डकर्मीको अभाव, आर्थिक अभाव र जनशक्तिको अभावले अपेक्षा अनुसार घर निर्माण हुन सकेका छैनन् ।

भुकम्पबाट जिल्लामा पाँच हजार २ सय ६९ घर पूर्ण क्षति भएको तथ्यांक छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार घर निर्माण गरिसकेका एक हजार ४ सय लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकम बझेका छन । पहिलो किस्ताको रकम लगेका तीन हजार ४ सय नौ जनाले अहिले पनि घर निर्माण गरेका छैनन् ।

पूर्ण क्षतिमा परेका लाभग्राहीमध्ये हालसम्म चार हजार ८ सय ९ जनाले पहिलो किस्ताको रकम रु ५० हजार बुझिसकेका छन् भने ४ सय ६० जनाले पहिलो किस्ताको रकम समेत बुझेका छैनन् । लाभग्राहीलाई पहिलो किस्ताको रकम रु २४ करोड चार लाख ५० हजार भुक्तानी गरिसकिएको पर्वतमा लाभग्राहीले भने घर निर्माण गरीसकेका घरको समेत प्रविधिक समस्या देखाएर कर्मचारीहरुले दोस्रो भुक्तानी दिन ढिलाई गर्ने गरेको गुनासो गरेका छन् । आधा घर निर्माण गरेका कुश्मा नगरपालिका–११ पकुवा प्रेम बहादुर क्षेत्रीले दुई वर्षको पल मुनीको बसाई सुनाउँदै ५० हजार बुझेर आधा घर बनाएको भएपनि कर्मचारीहरुले विभिन्न कारण देखाएर दोस्रो किस्तामा समस्या भइरहेको बताउनु भयो । क्षेत्रीले घर बनाउने समयमा प्राविधिक आएनन बनेपछि पास गरेनन गुनासो सुनाउनु भयो । पहीलो किस्ता बल्ल तल्ल दिएका भएपनि दोस्रोका लागि मापदण्ड पुगेन भन्छन् ।

पर्वतका भुकम्पपीडितले दोस्रो किस्ताबापतको रकम रु २१ करोड घर बनाएकाले भुक्तानी लगिसकेको जनाइएको छ । आयोजना कार्यान्वयन इकाई प्रमुख जगदिश शर्माले पुननिर्माण सन्तोषजनक नरहेको बताउँदै तेश्रो किस्ताको लालि माग नभएको बताउनु भयो ।

पहलिो किस्ता लगेर पनि कतिपयले घर नै निर्माण गरेका छैनन् । पहिलो किस्ता लगेर घर नबनाएका लाभग्राहीलाई रकम फिर्ता गर्न ताकेता गरिएको शर्माले जानकारी दिनुभयो । घर सम्पन्न भएको प्राविधिकको सिफारिसको आधारमा स्थानीय तहले निवेदन दिएमा तेस्रो किस्ताको रकम भुक्तानी गर्ने प्रावधान रहेको आयोजना कार्यालयले जनाएको हो ।

भूकम्पका कारण यसअघि नै आंशिक क्षतिमा परेका ४सय १७ जनामध्ये १सय २० जनासँग अनुदान सम्झौता भइसकेको छ । आंशिक क्षतिमा परेका २ सय ९७ जना भने सम्झौताका लागि समेत आइनपुगेको कार्यालयले जनाएको छ । आंशिक क्षतिमा परेकाले दुई किस्तामा गरी रु एक लाख पाउनेछन् । शुरुमा रु ५० हजार र घर मर्मत गरिसकेपछि रु ५० हजार भुक्तानी पाउने व्यवस्था रहेको छ ।