पोखरा प्रिमियर लिगः चितवन राइनोजको पहिलो जित

625
views

पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बुधवारको पहिलो खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई १२६ रनको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको धनगढीलाई १२६ रनले पराजित गर्न सफल भएको हो । धनगढीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले पहिले ब्याटिङ गरेको थियो ।

चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रनको उच्च स्कोर बनाएको थियो । १९४ रनको लक्ष्य पछ्याएको धनगढीले १६.२ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमायो । चितवनका लागि भारतीय खेलाडी सन्नी पटेले ४ विकेट लिए ।

धनगढीले पहिलो ओभरदेखि नै खराब ब्याटिङ गर्योे । पहिलो ओभरमा दीलिप नाथको विकेट गुमाएको धनगढीले चौथो ओभरमा ७ रन बनाउँदा ३ विकेट गुमाएको थियो । धनगढीका लागि इङ्ल्याण्डका खेलाडी पिटर ट्रेगोले २७ र योगेन्द्रसिंह कार्कीले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर बनाएनन् ।

पहिले ब्याटिङ गरेको चितवनका लागि ओपनरद्वय अनिलकुमार साह र हरिशंकर साहले १०१ रनको साझेदारी गरी उच्च स्कोरका लागि आधार तयार पारेका थिए । चितवनका लागि हरिशंकर साहले ५३ रन बनाए । त्यसैगरी असनल साहले ३७, भारतीय खेलाडी स्मीत पटेलले र सन्नी पटेलले क्रमशः २४ र २६ रन र कप्तान पारस खड्काले १९ रन बनाए ।