नेपाल–थाइल्याण्डबीच नयाँ हवाई सेवा सम्झौता

780
views

काठमाडौ । नेपाल र थाइल्याण्डबीच भएको हवाई सेवा सम्झौता अनुसार नेपालले थाइल्याण्डमा हप्तामा २८ उडान गर्न पाउने भएको छ । सम्झौता अनुसार दुबै देशले जुनसुकै विमानबाट उडान गर्न सक्ने छन् ।

पहिलो पटक हवाई सेवा सम्झौता भएको ४७ वर्षपछि शुक्रबार उक्त सम्झौता पुनरावलोकन भएको हो । सम्झौतामा दुबै पक्षले मालबाहक उडान आवश्यकता अनुरुप उडान गर्न सक्ने उल्लेछ छ । साथै उडान गर्दा तेस्रो मुलुकसँग सम्झौता गरि कोड सेयर गर्न समेत सकिने व्यवस्था नयाँ सम्झौतामा गरिएको छ ।

थाइल्याण्डको बैंककमा भएको दुईपक्षीय हवाई सेवा सम्झौतामा नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाई पक्षका टोली नेता एवं थाई नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकमानोपले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा दुबै पक्षले हप्तामा १०–१० उडान गर्न पाउने उल्लेख थियो । पहिलेको तुलनामा ४ गुनाभन्दा बढी हप्तामा उडान गर्न पाइने भएको छ ।