भद्रपुर, कात्तिक १७ गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ ।
पीडित युवतीका बुबाले प्रहरीलाई दिएको उजुरीका आधारमा ताजपुरियालाई पक्राउ गरिएको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिनुभयो । उनी पाँच महीनाकी गर्भवती भएको बताइएको छ । युवतीको स्वास्थ्य परीक्षणका लागि आजै मेची अञ्चल अस्पताल पठाइने प्रहरी प्रमुख पौडेलले बताउनुभयो ।
अभियुक्तलाई सोही कार्यालयमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।झापामा चालु आर्थिक वर्षको चार महीनामा मात्र आधा दर्जन बलात्कारका घटना भएका छन् । रासस