एकता पक्रिया टुङ्ग्याउन कार्यदलको गृहकार्य जारी

593
views

काठमाडौंँ, २५, कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियालाई टुङ्गो लगाउने गरी गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो लगाउने गरी कामकाज भइरहेको बताएको छ ।

नेकपा सचिवालय बैठकले यही कात्तिक ८ गते दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई प्रदेश कमिटीको सदस्य सङख्या, केन्द्रीय नेताहरुको जिम्मेवारी तथा पार्टीको तल्लो स्तरसम्मको एकता प्रक्रियाका लागि गृहकार्य गर्ने जिम्मेवारी दिइएको थियो । सोही जिम्मेवारीअनुरुप कार्यदलले सघन रुपमा काम गरिरहेको नेकपाका महासचिव तथा कार्यदलका सदस्य विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

कार्यदलले गृहकार्य गरी तयार गर्ने प्रतिवेदनलाई पार्टीको सचिवालय बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी पाएको छ । कार्यदलले गृहकार्यलाई अन्तिम रुप दिइनसकेकाले सचिवालय बैठक बस्न सकेको छैन । यसअघि कात्तिक १२ र १३ गतेका लागि स्थायी कमिटीको बैठक आह्वान गरिएको भए पनि प्रधानमन्त्रीको अस्वस्थता र कार्यदलको तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक अर्को सूचना जारी नहुँदा सम्मका लागि स्थगित गरिएको थियो ।

स्थायी कमिटी बैठक सार्ने निर्णय भएलगत्तै पार्टी भित्रका नेताहरुले विरोध गर्नुभएको थियो । गत जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भए पनि तल्लो स्तरसम्म एकता प्रक्रिया सो दलले टुङ्ग्याउन सकेको छैन । पाँच महिना पूरा हुँदासमेत पार्टीको एकता प्रक्रिया नटुङ्गिदा पार्टी कार्यकर्ता र नेताहरुबीच टिकाटिप्पणी हुने गरेको छ ।

पार्टी एकता प्रक्रियालाई सरकारको काम कारवाहीसँग समेत तुलना गरेर पार्टी्भित्र हेर्ने गरिएको छ । एकता प्रक्रिया सम्पन्न नहुँदा सरकारको कामकाज समेत प्रभावकारी हुन नसकेको कतिपय नेताहरूले गुनासो गर्ने गरेका छन् ।

कार्यदलका सदस्य महासचिव पौडेलले भन्नुभयो, “एकता प्रक्रिया छिटोभन्दा छिटो टुङ्गो लगाउने गरी नै काम भइरहेको छ, दुई ठूला पार्टीबीचको एकता प्रक्रिया केही लम्बिदा निराश भइहाल्नुपर्ने अवस्था भने होइन ।” कार्यदलमा महासचिव पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहनुभएको छ ।

कार्यदलले गृहकार्य गरी प्रतिवेदन तयार गर्न नसक्दा यही कात्तिक ८ गतेपछि पार्टीको सचिवालय बैठक पनि बस्न सकेको छैन । कार्यदलको प्रतिवेदनलाई सचिवालय बैठकमा प्रस्तुत भएपछि अनुमोदन गरेर स्थायी कमिटी बैठकमा प्रस्तुत गराउने तयारी गरिएको छ । स्थायी कमिटी बैठकबाट समेत अनुमोदन भएमा त्यसलाई केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी पारित गराउने तयारी कार्यदलको छ । गोरखापत्रबाट