राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न स्थानीय तहलाई सुझाव

545
views

बागलुङ, ३०, कात्तिक । मध्यपहाडी लोकमार्गको अनुगमनका लागि बागलुङ आएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनाहरुलाई स्थानीय तहबाटै अनुगमन गर्नुपर्ने बताएका छन् ।

शर्माले राष्ट्रिय गौरवका आयोजनाको पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिदैं त्यसको अनुगमन पनि स्थानीय तहले गर्नुपर्ने बताएका हुन् ।

नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा नेता शर्माले राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङ जिल्लालाई समृद्ध बनाउन ठूलो भूमिका निर्वाह गर्ने भएकाले सरकारले बजेट अभाव हुन नदिने र छिटो काम नसक्ने ठेकेदारलाई सरकारले कारवाही गर्न पछि नहट्ने बताए ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेकपा बागलुङका नेता तथा कार्यकर्ताहरुले लोकमार्गको बागलुङ–बिहुँखण्ड छिटो कालोपत्रे गर्नका लागि पहल गरिदिन नेता शर्मासँग आग्रह गरेका थिए ।