राष्ट्रपति ट्रम्पद्वारा क्यालिफोर्निया डढेलो क्षेत्रको भ्रमण

562
views

नवदृष्टि संवाददाता । क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्रमण गरेका छन् । शनिबार स्थलगत अवलोकनपछि राष्ट्रपति ट्रम्पले विगतमा झैँ वन व्यवस्थापनमा भएको कमजोरीका कारण दुखद घटना भएको बताएका छन् ।

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो नजिकका गाउँ–सहरमा फैलिएर हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ भने अरू एक हजारभन्दा बढी बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् । ‘यो धेरै दुखद् छ,’ ट्रम्पले प्याराडाइजमा भने । डढेलोबाट प्याराडाइज नगर लगभग ध्वस्त भएको छ र अधिकारीहरूले पूर्ण रूपमा पुनर्निर्माणको आवश्यकता रहेको बताएका छन् ।

डढेलो करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ । यद्यपि अधिकारीहरूले पूर्ण रूपमा नियन्त्रणमा आउन यो महिनाको अन्त्यसम्म लाग्नसक्ने अनुमान गरेका छन् । डढेलोबाट जंगल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनर्निर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ ।

‘विवरण तलमाथि हुन सक्छ, खोजी तथा उद्धार भइरहेको छ,’ एक सरकारी उच्च अधिकारीले पत्रकारसँग भने । खोजी अझै जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीले बताएका छन् । यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जंगलमा अकस्मात् आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुतगतिमा फैलिएको थियो । डढेलोबाट झन्डै १० हजार निजी घर र दुई हजार ५ सयभन्दा बढी अन्य भवन ध्वस्त भएका छन् ।