कर्णाली प्रदेशः कानून र योजना आयोग गठनादेश स्वीकृत

845
views

सुर्खेत, ४ मङ्सिर । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश कानून तथा कर्णाली प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश, २०७५’ स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको गठनादेश स्वीकृत गर्ने निर्णय गरेको हो । सात सदस्यीय कर्णाली प्रदेश कानून आयोग गठन हुने सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिईन् ।

कानून आयोगमा एक अध्यक्ष, सरकारले नियुक्त गर्ने दुई सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, मुख्य न्यायाधिवक्ता पदेन सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

प्रदेश सरकारले ६ सदस्यीय कर्णाली योजना आयोग गठन गर्ने निर्णय पनि गरेको छ । आयोगमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही योजना आयोगको अध्यक्ष रहनेछन् । प्रदेश सरकारले नियुक्त गर्ने एक उपाध्यक्ष, दुई सदस्य, प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

सात सदस्यीय अस्पताल व्यवस्थापन समिति रहने व्यवस्थासहित ‘अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७५’ पनि स्वीकृत गर्ने निर्णय गरिएको केसीले बताउइन् । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि ‘कर्णाली–रारा पर्यटन वर्ष, २०७५’ अन्तर्गत डोल्पाको शेफोक्शुण्डो तालमा मङ्सिर ११ र १२ गते आयोजना गरिने महोत्सवलगायत कार्यक्रमका लागि उपराष्ट्रपति नन्दबहादुर पुनलाई आमन्त्रण गर्ने निर्णयसमेत भएको प्रवक्ता केसीको भनाई छ ।