कार्यकक्ष नपाउँदा झोलामा कार्यालय

कुश्मा नगरपालिकाका कर्मचारीहरु कार्यालयको काम झोलाबाटै चलाउँछन्

796
views

महेन्द्र जिसी
पर्वत, ५, मंसिर । कुश्मा नगरपालिकाका कर्मचारीहरु कार्यकक्ष नपाउँदा झोलाबाटै काम चलाउन वाध्य छन् । कर्मचारीहरुलाई सेवाग्राहीको काम भन्दापनि दिनभर कुन कार्यकक्षमा बसेर दिन विताउने हो भन्ने चिन्ता परेको छ ।

दैनिक एकसय भन्दा बढी कर्मचारीहरु कार्यालयमा आउने नगरपालिकामा विषयगत शाखाको विभाजन नभएका कारण झोलामा कार्यालय बोकेर हिडनु परेको कर्मचारीको गुनासो छ ।

विभिन्न ३५ भन्दा बढी विषयको सेवा दिने निकाय सञ्चालनमा आएको चौथो वर्षमा पुग्दा समेत विषयगत शाखा विभाजन हुन नसकेको स्रोत व्यक्ति प्रेम शर्मा सुवेदीले बताए ।

अहीले प्रमुख, उपप्रमुख, कार्यकारी प्रमुख लेखा शाखा राजस्व शाखा मात्र कार्यलयमा रहेका छुन । अन्य विषयगत शाखाहरु भने कार्यापालिकाले व्यवस्थापन गराउन सकेको छैन । शाखा नै नभएपछि कर्मचारीहरुले कार्यालयको पेटी, खाली रहेका कोठा स्टोर, प्रमुख तथा उप–प्रमुख नभएको समय पारेर कार्याकक्षमा जिम्मेवारी समाल्दै आएका हुन । कार्यालय व्यवस्थापन नहुँदा कहिले मेयर र कहिले उप–मेयरको कार्यकक्षमा बसेर नगरपालिकाका स्कुलहरुको काम गर्दै आएको नगरपालिकाका श्रोत व्यक्ति सुवेदीले बताए ।

एकसाताअघि सदरमुकामका प्रदेश मातहातका कार्यालयका वोर्ड राखेको कार्यालयले कार्यकक्ष नपाएपछि कर्मचारीमा कसरी काम गर्ने भन्ने अन्यौलता छाएकोे । नगरपालिकामा १४ वडा रहेका छन् । वडा तहका कार्यालयहरु भने व्यवस्थित रुपमा सञ्चालनमा आएका छन् ।

भाडामा रहेको कार्यालय साना कोठा त्यसमा पनि अपुग भएपछि व्यवस्थापनमा समस्या भईरहेको नगरपालिकाको कार्यालयले जनाएको छ । जनप्रतिनिधि सुमन विस्वकर्माले प्रदेशले स्थानीय तहलाई हस्तक्षेप गरेका कारण संघीयता कार्यान्वयमा समस्या हुँदै आएको बताए ।

अहिले नगरशिक्षा शाखा, कृषि शाखा, पशु शाखा, स्वास्थ्य शाखा तथा सहकारी शाखा, महिला विकास शाखा, पुननिर्माण शाखा, योजना शाखा, सामाजिक विकास शाखा, लगायतका दर्जनभन्दा बढी शाखाहरुका कार्यालय छैनन् ।

कर्मचारीहरुले शाखा व्यवस्थापन नहुँदा सबै शाखाको काम एउटै कोठाबाट गर्दै आएका छन । स्थानीय सरकार कार्यान्वयमा आएको डेड वर्ष पुगिसक्दा पनि सदरमुकाम कै नगरपालिकाले विषयगत सेवाका लागि कार्यकक्ष व्यवस्थापन गराउन सकेको छैन । जसले गर्दा गाउँ गाउँका स्थानीय सरकारको सेवा थप अहसज र कस्टकर बन्दै गईरहेको छ ।