बिक्रि भएन हुम्लाको स्याउ

854
views

सिमकोट । यसबर्ष हुम्लामा उत्पादित स्याउ आधाभन्दा बढी बिक्री भएन । यातायात असुविधाकै कारण उक्त परिमाणमा स्याउ बिक्री हुन नसकेको हो । हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको केही भू–भागबाहेक सबै क्षेत्रमा स्याउ खेती गर्न सकिने कृषि ज्ञान केन्द्रका नाप्रस बलबहादुर फडेराले बताए ।

आर्थिक वर्ष २०७४÷७५ सम्म हुम्ला जिल्लाभरमा ५३०.६९ हेक्टर जमिनमा स्याउ खेती लगाइएकोमा चार हजार १२० मेट्रिक टन उत्पादन भएको उनले बताए । त्यसमध्ये दुई हजार एक सय मेट्रिक टन मात्र बिक्री हुन सकेको उनको भनाई छ । कुल उत्पादनमध्ये साढे तीन सय मेट्रिक टन स्याउ कुहिएर खेर गएको छ । जिल्लामा जम्मा स्याउमा बोटहरू एक लाख ६३ हजार पुगेको समेत उनले बताए ।

१५ रोपनीमा स्याउ चार सयभन्दा बढी बोटबाट यसैपालिबाट उत्पादन लिन थाल्नुभएका सिमकोट गाउँपालिका–६ का कृषक जयचन्द्र रोकायाले ८० क्विन्टल उत्पादन भए पनि दस हजारको मात्र बिक्री भएको बताए ।

२५ देखि ३० क्विन्टल स्याउ भण्डारण गर्नुभएका रोकायाले उचित व्यवस्था नहुँदा १२ क्विन्टलसम्म सडेगलेको र कुहिएको बताए ।