नेकपाले लगायो प्रदेश कमिटी एकिकरणको टुङ्गो

615
views

काठमाडौँ, १३, मङ्सिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयले सातवटै प्रदेशको एकीकरण टुङ्गो लगाएको हो ।

सचिवालयका सदस्य एवं पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश कमिटीको एकीकरण टुङ्गो लगाउनुका साथै कमिटीलाई पूर्णता दिने कार्य सम्पन्न भएको जानकारी दिए ।

प्रदेश कमिटीका सदस्यहरु भने सार्वजनिक गरिएको छैन । यसअघि असोज ५ गते बसेको सचिवालयको बैठकले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको थियो ।

प्रदेश १ को इन्चार्जमा भीम आचार्य, सहइन्चार्जमा सावित्री काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राईलाई चयन गरिएको थियो । प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल र सहइन्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेललाई चयन गरिएको थियो । प्रदेश ३ को इन्चार्जमा अष्टलक्ष्मी शाक्य र सहइन्चार्जमा नारायण दाहाल, प्रदेश कमिटी अध्यक्षमा हितमान शाक्य र सचिवमा आनन्दप्रसाद पोखरेललाई चयन गरिएको थियो ।

त्यस्तै गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र सहइन्चार्जमा खगराज अधिकारी तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपालीलाई चयन गरिएको थियो । प्रदेश ५ को इन्चार्जको जिम्मा शङ्कर पोखरेल र सहइन्चार्जमा दलबहादुर राना, प्रदेश कमिटीको अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मालाई चयन गरिएको थियो ।

कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा र सहइन्चार्जमा यमलाल कँडेल तथा कमिटीको अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मालाई चयन गरिएको थियो । प्रदेश ७ को इन्चार्जमा भीमबहादुर रावल र सह–इन्चार्जमा लक्ष्मणदत्त जोशी तथा प्रदेश कमिटीको अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा नेपबहादुर चौधरीलाई चयन गरिएको थियो ।

प्रदेश कमिटीलाई पूर्णता दिन सचिवालयले सचिवालयका सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहने गरी एक कार्यदल बनाएको थियो । कार्यदलले बुझाएको प्रतिवेदनअनुसार बुधबार बसेको सचिवालयको बैठकले सदस्यहरूको नाम टुङ्गो लगाएको हो । प्रदेश कमिटी र केन्द्रीय सदस्यको कार्य्विभाजन टुङ्गो लगाउन सोमबार र मङ्गलबार आन्तरिक गृहकार्य गरिएको थियो । केन्द्रीय सदस्यहरूको कार्य्विभाजनका बारेमा छलफल भए पनि त्यसको टुङ्गो अर्को बैठकबाट लगाइने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । सचिवालयले कार्यविभाजनको टुङ्गो लगाएपछि पार्टी स्थायी कमिटीको बैठक बसी त्यसलाई अनुमोदन गरिने बताइएको छ ।

बैठकमा प्र्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको उपस्थिति थियो ।