काँग्रेस महासमिति बैठकः पाँच दस्तावेजमाथि छलफल

455
views

काठमाडौँ, २८, मंसिर । नेपाली काँग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म चल्ने छ । प्रवक्ता शर्माका अनुसार महासमिति बैठकमा २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् ।

महासमिति बैठक उद्घाटन मङ्सिर २९ गते बिहान ११ बजे यगम्बर पार्टी प्यालेसमा हुनेछ । उद्घाटन लगत्तै बन्दशत्र शुरु हुने काँग्रेसले जनाएको छ । बन्द सत्रमा पार्टीको केन्द्रीय समितिमा प्रस्तुत भई छलफल भएका विभिन्न पाँच दस्तावेज पेश हुनेछन् ।

बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशाङ्क कोइरालाले साङ्गठिनक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नुहुनेछ ।

बैठकले संघीय संरचनाअनुसार पार्टीको विधान पारित गर्ने र आगामी नीति तथा दृष्टिकोण समेत तय गर्ने बताइएको छ । पार्टीको महाधिवेशन पछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पाटीभित्र उठेका फरक फरक धारणालाई सम्बोधन गर्ने बताइएको छ ।