पूर्व र पश्चिम रुकुममा रेडक्रसलाई सहयोग

894
views

काठमाडौं, १, पुष । पूर्व रुकुम जिल्ला समन्वय समितिको कार्यालयले रेडक्रसको नवगठित रुकुमपूर्व जिल्ला शाखाको रुकुमकोट स्थित कार्यालय सञ्चालन सहयोगार्थ फर्निचर तथा कार्यालय उपकरण उपलव्ध गराएको छ । शाखालाई कम्प्यूटर टेवुल, दराज, कुर्सी र क्यामेरा उपलव्ध गराएको तदर्थ समितिका सँयोजक लोकेन्द्र वुढाथोकीले जानकारी दिए ।

गतहप्ता जिल्ला समन्वय समिति, स्थानीय गाउँपालिकाहरुका जनप्रतिनिधिहरु, सरकारी र गैरसरकारी संस्थाहरु तथा राजनीतिक दलहरुका प्रतिनिधिहरुसँग रेडक्रसले रुकुमकोटमा आफ्नो गतिविधिहरु जानकारी गराउन औपचारिक छलफल कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा सहयोग र समन्वय वढाउन सरोकारवालासँस्थाहरुका प्रतिनिधिहरुले सकारात्मक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा रेडक्रसको अन्तराष्ट्रिय समितिका प्रतिनिधि कृष्ण चालिसे तथा नेपाल रेडक्रसका निर्देशक दिव्यराज पौडेलले अन्तराष्ट्रिय रेडक्रस र नेपाल रेडक्रसका विषयमा जानकारी गराएका थिए ।

सरकार र अन्य सवैपक्षको सहयोगमा रेडक्रस सञ्चालन हुने भएकाले नयाँ जिल्लामा रेडक्रसलाई काम गर्ने आधार बनाइदिन अनुरोध गर्दै नेपाल रेडक्रसका केन्द्रीय उपमहामन्त्री हरिप्रसाद न्यौपानेले भने ‘रुकुम पूर्व जिल्लाका भूमे, सिस्ने तथा उत्तरगंगा गाँउपालिकामा रेडक्रसका सदस्यहरु वितरण गरी उपशाखा विस्तार गर्ने र मानवीय सेवाको आधार तय गर्ने पहिलो प्राथमिकता हो ।’

रेडक्रसको मानवीय सेवा, आदर्श र गतिविधिहरुबाट प्रभावित भई पूर्वी रुकुम जिल्ला समन्वय समिति सभापति गजेन्द्रबहादुर वलीले आफू तत्कालै रेडक्रसको सदस्य बन्ने घोषणा गर्दै सवैलाई रेडक्रसको सदस्य बनी सहयोग गर्न आव्हान गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सिस्ने गाउँपालिकाका प्रमुखले दुर्गम तथा नयाँ जिल्ला रुकुममा रेडक्रसको संगठन मजबुद वनाई राहत सामग्रीहरुको जोहो गर्न अत्यावश्यक रहेको बस्तुस्थिति औँल्याए ।

यसै सिलसिलामा नेपाल रेडक्रसको संगठनात्मक पक्ष सुदृढ गर्न आयोजित छुट्टै दुई दिने प्रशिक्षण कार्यक्रममा युवाहरुको आकर्षण बढेको पाइएको छ । तालिम पश्चात स्थानीय युवा सुविनाले भने ‘रेडक्रसको युवा स्वयंसेवक भई काम गर्ने अवसर मिलेकोमा हर्षित छु ।’

रुकुम पश्चिममा पनि कार्यक्रम

यस्तै छलफल र पृष्ठपोषण कार्यक्रम पश्चिम रुकुमको मुसिकोट खलंगामा पनि आयोजना गरिएको छ । गाँउपालिका र नगरपालिकाहरुमा विपद प्रतिकार्य योजना बनाउन र कार्यान्वयन गर्न रेडक्रसको सहयोगको लागि जनप्रतिनिधिहरुले आग्रह गर्नुभएको थियो । शाखा सभापति शिवराम खत्रीले पालिकाहरुको सँरचना अनुसार उपशाखाहरुको विस्तार गरिने बताए ।

कार्यक्रममा मन्त्री रमा गौतमले रुकुम पश्चिमका गतिविधिहरुबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा स्थानीय बस व्यवसायीका प्रतिनिधिले जिल्लामा सडक दुर्घटनाको जोखिम रहेकोले यातायात मजदुरहरुलाई प्राथमिक उपचारको तालिम तथा सामग्री उपलव्ध गराउन रेडक्रसलाई नगद सहयोग गर्न बजेट छुट्याइएको सहभागिहरुलाई जानकारी गराए ।