सामुद्रिक चक्रवातका कारण मौसम बदली

769
views

काठमाडौ । बंगालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ को प्रभावले नेपालमा मौसम बदली भएको छ । नेपालका केही भूभागमा वर्षा र हिमपातको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भूभागमा हल्का वर्षा हुने र उच्च हिमाली भूभागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना औँल्याएको हो ।

चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज अपराह्नतिर ल्याण्डफल हुने महाशाखाले जनाएको छ ।

आज बिहानैदेखि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ । उपत्यकाको आकाशमा बदली रहेका कारण चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम २.५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । केही दिनयता निरन्तर न्यूनतम तापक्रम घटेकाले क्रमशः चिसो बढ्दै गएको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।

साता दिनअघि काठमाडौंको न्यूनतम तापक्रम ५ र ६ डिग्रीको हाराहारीमा थियो । पछिल्लो तीन दिन न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको उपत्यकाको आज भने २ डिग्रीमा झरेको हो । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको छ ।