कर्मचारी आन्दोलित

2209
views

महेन्द्र जिसी
पर्वत,३, पुष । स्थानीय श्रोत मार्फत सेवा सुविधा उपभोग गर्दै आएका कर्मचारीहरुले निजामती कर्मचारी सरह सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन ।

उनीहरुले गत पुष १ गते पत्रकार सम्मेलन गरेर सोमबारदेखी प्रत्येक स्थानीय तहको सेवा एक घण्टा रोकेर आन्दोलन थालेका हुन । कर्मचारीहरुले कर्मचारी समायोजनको अध्यादेश विधेयक विरोध गर्दै एक महिना सम्म आन्दोलन गर्ने बताएका छन् ।

उनिहरुले श्रेणीविहीन कर्मचारीहरुको तह वृद्धि तथा सेवा सुविधामा निजामती कर्मचारी सरह वृद्धिको माग राख्दै पर्वतको कुश्मा नगरपालिकाको काम दुईघण्टा रोकेका छन् ।

स्थानीय तह कर्मचारी युनीयन पर्वतका केन्द्रीय सदस्य पुरुषोत्तम शर्माले सरकारले अध्यादेश पुर्व मुल्याङ्कन नगरी माग सम्बोधन नगरे कार्यालयको सम्पुर्ण काम ठप्प पार्ने चेतावनी दिए ।

विरोध कार्यक्रममा कुश्मा नगरपालिकाका मात्रै तीन दर्जन कर्मचारी रहेका छन् । जिल्लामा रहेका सात स्थानीय तह मध्ये धेरै स्थानीय तह मार्फत सेवा सुविधा दिने कर्मचारी रहेको नगरपालिकामा मंगलबार दुई घण्टा सेवा रोकिएको थियो ।