नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयाम

692
views

काठमाडौं । नेपाल र अमेरिकाबीचको सात दशक लामो सम्बन्धलाई पारस्परिक हितका आधारमा अगाडी बढाउन दुवै देशका विदेशमन्त्रीबीच सहमति भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा सहमति भएको हो ।

सहमतिपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई व्यापार, लगानी र सहायताबाट अगाडि बढाउन खोजेकोप्रति अमेरिका सकारात्मक रहेको बताए ।

परराष्टन्मन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइक पोम्पेओबीच भएको एकघण्टा लामो छलफलमा राजनीतिक सहकार्य, विकास सहयोग र सम्बन्ध विस्तार अर्को तहमा लैजाने सहमति भएको छ ।

मन्त्री ज्ञवालीले अमेरिकी सरकारका उच्च अधिकारीसँगको छलफलमा नेपालले तीनै तहको निर्वाचन सम्पन्न गरेर स्थिर सरकारको जग बसाल्न सफल भएको जानकारी गराएका थिए ।

बैठकमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने र आर्थिक सहकार्यका लागि राजनीतिक तहको सहभागितामा अभिवृद्धि गर्न सहमति भएको छ । व्यापार, लगानी र विकास सहायतामा दुई देशबीच सहकार्य गर्ने विषयमासमेत छलफल भएको छ ।

यसैगरी दुई देशका परराष्ट्रमन्त्रीबीच ‘मिलेनियम च्यालेञ्ज कोअपरेशन’को कार्यान्वयन र यसबाट लाभ हासिल गर्ने विषयमा समेत छलफल भएको थियो ।

दुई देशबीच क्षेत्रीय र अन्तर्रा्ष्ट्रिय मुद्दाका साथै द्विपक्षीय रुपमा भएका सम्झौताको कार्यान्वयन, नेपालको शान्ति प्रक्रिया, एमसिसि च्यालेञ्जलगायतका विषयमा महत्वपूर्ण छलफल भएको बैठकमा सहभागी अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले जानकारी दिए ।

बैठकमा नेपालको तर्फबाट राजदूत कार्की, अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, गृह मन्त्रालयका सहसचिव महादेव पन्तलगायत दूतावासका प्रतिनिधि सहभागी थिए । अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकाका राजदूत रयाण्डी वेरीलगायत सरकारी निकायका प्रतिनिधि सहभागी थिए ।