आजबाट विधेयक अधिवेशन सुरु

475
views

काठमाडौँ, ११, पौष । संशोधन गनुृपर्ने ऐजेण्डा सहित आजबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । यो संघीय संसदको तेस्रो अधिबेशन हो । कानुन मन्त्रालयको अध्ययन अनुसार मौजुदा ३३९ वटा ऐनमध्ये संविधानसँग बाझिएका १ सय ७४ कानुन संशोधन र परिमार्जन गर्न र केही नयाँ कानुन बनाउन हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।

सरकारले शुक्रबारमात्र संविधानसँग बाझिएका ५५ वटा ऐन एकैपटक संशोधन गर्नेगरी केही नेपाल ऐन संशोधन पनि दर्ता गरेको छ । अन्य विधेयक दर्ताका क्रममा छन् ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विधेयक अधिवेशनकै रूपमा हिउँदे अधिवेशन सुरु हुने बताए । उनले भने, ‘विशेषगरी यो अधिवेशन कानून निर्माणमा नै केन्द्रित हुन्छ ।

संसद् अधिवेशन आह्वानसँगै संघीय संसद्का दुबै सदनले पहिलो दिनको कार्यसूची तय गरेका छन् । दुबै सभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबारको बैठकले दैनिक कार्यसूची तय गरेको हो । दुबै सदनमा अधिवेशनको पहिलो दिन राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको अधिवेशन आह्वान पत्र पढेर सुनाइनेछ । यस्तै, अधिवेशन नभएको अवस्थामा सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेश पनि सदनका दुबै बैठकमा पेस हुनेछ । संवैधानिक प्रावधान अनुसार अधिवेशन सुरु भएको ६० दिनभित्र संसद्बाट अध्यादेश प्रतिस्थापन हुनुपर्नेछ ।

सदनको पहिलो दिन शोक प्रस्तावको समेत कार्यसूची रहेको छ । बुधबारको बैठकमा पूर्वमन्त्री समेत रहनुभएका चक्र बास्तोलाको निधनको दुबै सदनले शोक प्रस्ताव पारित गनेछ । यस्तै, पद्मरत्न तुलाधर र मोतीदेवी थारुको निधनको शोक प्रस्ताव पारित हुनेछ । प्रतिनिधिसभामा भने राष्ट्रियसभाले पारित गरी पठाएका विधेयकको सन्देश पेस हुनेछ ।