म्यान्चेस्टर सिटीको दोस्रो हार, लेस्टर सिटी विजयी

508
views

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार दोस्रो हार व्यहोरेको छ । क्रिष्टमसको भोलिपल्ट ‘बक्सीङ डे’ मा भएको खेलमा म्यान्चेस्टर सिटीलाई लेस्टर सिटीले २–१ ले हराएको हो ।

खेलमा लेस्टरलाई विजयी गराउन मार्क अल्ब्राइटन र रिकार्डो परेराले एक एक गोल गरे । म्यान सिटीका बर्नार्डो सिल्भाले पहिलो गोल गरेका थिए । लेस्टर सिटीले अघिल्लो हप्ता चेल्सीलाई हराएको थियो ।

गएराती भएका अन्य खेलहरुमा लिभरपुल, चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । शीर्ष स्थानको लिभरपुलले न्युकासल युनाइटेडलाई ४–० ले हराउँदा चेल्सीले वाट्फोर्डमाथि २–१ को जित निकाल्यो ।

यसैगरी म्यान्चेस्टर युनाईटेडले हडर्स्फिल्ड टाउनलाई ३–१ ले हराउँदा टोटनह्याम हट्सपरले बर्नमाउथमाथि ५–० को फराकिलो जित निकालेको छ ।

गएराती एभर्टनले बर्न्लेलाई ५–१ ले पराजित गर्दा आर्सनलले भने ब्राईटनसँग १–१ गोलको बराबरी खेल्यो । यसैगरी वुल्भरह्याम्पटन वान्डरर्सले फुल्हमसँग १–१ गोलको बराबरी खेल्दा क्रिष्टल प्यालेस र कार्डिफ सिटीले गोलरहित बराबरीमा चित्त बुझाए ।

गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा १९ खेलबाट ५१ अंक जोडेको लिभरपूल शीर्ष स्थानमा छ ।

समान खेलबाट ४५ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ । ४४ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा झर्दा चौथो स्थानको चेल्सीको ४० अंक छ । ३८ अंकसहित आर्सनल पाँचौ तथा ३२ अंकसहित म्यान्चेस्टर युनाइटेड छैठौं स्थानमा छ ।