उत्तर कोरियाली नेता किम जङ अनले चिनिया राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा तीन दिने चीन भ्रमण सुरु गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमले सो कुराको पुष्टि गरेको हो ।
उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै चीन जाँदै गरेको हुनसक्छन् भन्ने सोमबारको हल्लापछि यो समाचार आएको हो । उनी जनवरी ७ देखि १० सम्म उनकी पत्नी रि सोल जुसँग चीनमा हुने उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जनाएको छ ।
किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ताको लागि छलफल भइरहेका खबरहरूमाझ किम चिनियाँ भ्रमणमा निस्केका हुन् । गत जुन महिनामा किम र ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर भेट भएको ।
आफ्नो बख्तरबन्द रेलमा अन्य उत्तर कोरियाली नेताहरूसँग चिनियाँ भ्रमणमा गएका उत्तर कोरियाली नेता किमको यो एक वर्षभन्दा कम समयभित्रको चौथो भ्रमण हो ।
यसअघि उत्तर कोरियाको नेतृत्व गरेको ६ वर्षमा उनले चिनियाँ राष्ट्रपति सि जिन पिङलाई कहिल्यै भेटेका थिएनन् । गत वर्ष गरिएका तीनैवटा भ्रमण पनि पूर्व घोषित थिएनन्।
चीन उत्तर कोरियाको प्रमुख कुटनीतिक मित्र शक्ति तथा व्यापार र अन्य सहायताको श्रोत मानिन्छ । मंगलबार किमको ३५ औँ जन्मोत्सब रहेको बताइएको छ। तर अहिलेसम्म उनको जन्म मितिबारे प्योङयाङले भने कहिल्यै पुष्टि गरेको छैन ।
किमको यस पटकको तीन दिनको चीन भ्रमणले उत्तर कोरिया र अमेरिकाबीचको ऐतिहासिक शिखर भेट चाँडै हुँदैछ भन्ने अनुमानलाई थप टेवा पुग्ने बताइएको छ । यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताएका थिए । बीबीसीबाट