सदनमा उठेका प्रश्नको जवाफ देऊ !

723
views

काठमाडौँ, २५, पुस । प्रधानमन्त्री तथा मन्त्रीले प्रतिनिधिसभामा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिइसकेपछि सांसदहरुले उठाएका प्रश्नको उत्तर तत्काल दिन सभामुखले निर्देशन दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले गत २२ गते प्रधानमन्त्री केपी ओलीले सार्वजनिक महत्वको विषयमा मन्तव्य दिइसकेपछि सांसदले उठाएको प्रश्नको उत्तर नदिएकोमा आपत्ति जनाए ।

सांसद खाँडले प्रतिनिधिसभा नियमावली, २०७५ को २१९ अनुसार प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक महत्वको विषयमा बोलिसकेपछि सभा सदस्यले प्रश्न गर्न पाउने प्रावधान रहेको स्मरण गराए ।

प्रतिनिधिसभा नियामावली, २०७५ को २१९ (१) र (२) मा प्रधानमन्त्री र मन्त्रीले सभा सदस्यले सोधेका प्रश्न तत्काल जवाफ दिनुपर्ने व्यवस्था छ । तर प्रधानमन्त्रीले किन जवाफ दिन चाहानुभएन भन्दै प्रश्न गरे ।

प्रतिपक्षी सांसद उभिरहेको बेला सभामुखले बैठक अगाडि बढाएकोमा पनि खाँडले आपत्ति जनाए । सरकार सदन र जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।

२२ गते प्रधानमन्त्रीले जवाफ दिने वातावरण नबनाइनु सभामुखको व्यवस्थापकीय कमजोरी र त्रुटी देखिएको पनि उनले बताए ।

यस्तै खाँडले सांसदहरुले सभामुखलाई जानकारी गराएर संसद सचिवालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीहरुलाई लिखित प्रश्नहरु पठाएको र जवाफ अहिलेसम्म नआएकोमा आपत्ति जनाए । प्रधानमन्त्री र मन्त्रीले लिखित जवाफ दिनु पर्ने उनको माग थियो ।

उनले अबका दिनमा पनि प्रधानमन्त्री तथा मन्त्रीले सदनमा उठेका प्रश्नको उत्तर नदिएमा संसद् अवरुद्ध पार्ने चेतावनी दिए।

खाँडले उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख महराले सार्वजनिक महत्वका विषयमा वक्तव्य दिइसकेपछि तत्काल उत्तर दिन नेपाल सरकारलाई निर्देशन दिने बताए । उनले भने, ’ मेरो यो विषयमा गम्भीर ध्यानाकर्षण भएको छ ।

गत आइतबार प्रधानमन्त्री केपी ओलीले संसद् बैठकमा सार्वजनिक महत्वको विषयमा मन्तव्य दिएका थिए । उनको मन्तव्यपछि कांग्रेसका सांसदहरुले प्रश्न गर्न खोजेका थिए । तर प्रश्नको लागि सभामुखले समय नै दिएनन् ।

सो लगत्तै राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुख महराले राजपा नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णलाई बोल्न समय दिएका थिए ।