नेकपाको प्रतिवेदन बुझाउन थप समय लाग्ने

621
views

काठमाडौँ, पुस २८ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सम्पूर्ण साङ्गठनिक एकीकरण टुङ्गो लगाउन गठन गरेको कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउन थप समय लाग्ने भएको छ ।

पुस मसान्तभित्र सम्पूर्ण साङ्गठनिक एकीकरणको टुङ्गो लगाउन गृहकार्य गरी प्रस्ताव पेस गर्न पुस १३ गते सकिएको स्थायी कमिटीको बैठकले निर्देशन दिएको थियो । तर, हालसम्म मापदण्ड तयार गरी पार्टीको विधानमा मात्र छलफल सकिएको छ । नौ सदस्य कार्यदलमा चारजना मन्त्री नै रहेको हुनाले उहाँहरूकोे कार्य व्यस्तताका कारण नियमित बैठक समेत बस्न सकिरहेको छैन ।
कार्यदलका संयोजकमा गृहमन्त्री रामबहादुर थापा , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री हुनुहुन्छ । बाँकी सदस्य पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहनुभएको छ ।
कार्यदलका सदस्य पाण्डले भन्नुभयो, ‘‘समयमै प्रतिवेदन तयार गरेर पार्टीलाई बुझाउन खोजेका थियौं तर यो पुसमसान्तभित्र नभ्याउँला जस्तो छ । सदस्यहरूको कार्यव्यस्तताका कारण नियमित बैठक पनि बस्न सकिरहेको छैन ।’’ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १६ गते कार्यदलका सदस्यहरुलाई बोलाएर कामको प्रगतिको बारेमा जानकारी लिनुभएको थियो । साथै, उहाँहरुले १० दिनभित्र आफ्नो काम सकाएर सचिवालयमा प्रतिवेदन पेस गर्न सदस्यहरुलाई निर्देशन समेत दिनुभएको थियो । अध्यक्षद्वयले दिनुभएको निर्देशन अनुसारको समय सीमा बिहीबार नै सकिएको हो ।
कार्यदलका सदस्य भुसालले १० दिनको समयसीमा तोकेको कुरा मिडियामा आएको कुरा मात्र रहेको दावी गर्दै अध्यक्षद्वयले जतिसक्दो छिटो प्रस्ताव तयार गर्न भन्नुभएको र त्यो अनुसार काम भइरहेको बताउनुभयो । छिट्टै सकिने गरी आफूहरुले काम गरिरहेको उहाँले जानकारीे दिनुभयो ।
‘यति दिनभित्रै सकिनै पर्छ भनी अदालतको म्याद जस्तो पार्टीको काम हुँदैन त्यसैले केही समय लाग्न सक्छ,’ उहाँले भन्नुभयो