बेनी संरक्षण योजनामा ढिलाई

1148
views

बेनी, २९, पुस । गत भदौंको अन्तिम साता कालिगण्डकी नदीमा आएको बाढीका कारण कटानको उच्च जोखिममा परेको सदरमुकाम बेनी संरक्षण योजनामा भैरहेको ढिलाईप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

सदरमुकाम बेनीलाई संरक्षण गर्न कालिगण्डकी नदी किनारमा निर्माण गर्न लागिएको पक्की तटबन्धन योजना कार्यान्वयनको बारेमा शनिवार बेनी नगरपालिकाले आयोजना भएको सर्वपक्षीय छलफलमा सरोकारवालाहरुले समयमै योजनाको काम अघि वढाउन सुझाए ।

समयमै योजनाको काम अघि वढ्न नसक्दा अव आउने बर्खामा बजार कटानको जोखिममा पर्ने सक्ने खतरा रहेको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताईन् ।

छलफलमा सहभागी बेनी नगरपालिका र जलजला गाउँपालिकाका जनप्रतिनिधि, म्याग्दीका राजनीतिक दल एवम सरोकारवालाहरुले कालिगण्डकी नदीको कटानबाट दुवै तर्फको बजारलाई सुरक्षित राख्न दुबैतिर एकैपटक संरक्षणको काम थाल्नुपर्ने सुझाब दिएका छन् ।

यता पर्वत बेनीतर्फको भागमा पनि कटानको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरे । सरोकारवालाहरुले योजनालाई तिन चार भागमा विभाजन गरी उपभोक्ता समिति मार्फत काम गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापाले योजनका कामहरु समयमा नै सम्पन्न गर्न सुझाव दिए ।

भदौं २७ गते कालिगण्डकी नदीमा आएको वाढीले बेनी संरक्षणका लागि निर्माण गरिएको करिब एकसय पचास मिटर पक्की पर्खाल भत्काएको थियो । पर्खाल भत्किँदा बजार नदी कटानको उच्च जोखिममा परेको छ । नदीले जलजला गाउँपालिका ३ पर्वत बेनीको भाग पनि कटानको उच्च जोखिममा परेको छ ।

बेनी बजार संरक्षणको लागि संघिय सरकारको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्र्तगत जलस्रोत तथा सिँचाई विभाग मार्फत रुपाताल संरक्षण एकिकृत विकास परियोजनालाई बजार संरक्षणको कार्य जिम्मा दिएको छ । बजार संरक्षण योजनाका लागि चालु आर्थिक वर्षमा ३ करोड पचास लाख र पर्वत बेनीका लागि एककरोड पचास लाख रुपियाँ विनियोजन भएको छ ।