मालढुङ्गा बस दुर्घटनाः मृत्यु हुने पाँचको सनाखत

608
views

महेन्द्र जिसी
पर्वत, ३ माघ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनास्थलमा ३ जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको हो ।

म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा ५ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ का टिके परियार र उनकी श्रीमती सेती परियार, म्याग्दी पाखापानीका राजेश पुन र बिषमाया पुन, बाग्लुङ्ग नगरपालिका ४ कुडुलेकी शान्ति केसी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि पोखरा पठाइएको छ भने थप घाइतेलाई पठाउनका लागि हेलिकप्टर मगाइएको छ । पोखरा तर्फ २० जना यात्रु पठाइएको छ । अन्य घाइतेहरुको बागलुङ्ग अस्पतालमा उपचार भैरहेको छ ।