भुमिगत शैलीमा युवा लिगलाई तालिम

668
views

कावासोती, ६, फागुन । नेकपा क्रान्तिकारी माओवादीले शैन्य आधार तयार पार्न थालेको छ । क्रान्तिकारी माओवादी पार्टी आफ्नो भातृसंगठन क्रान्तिकारी युवा लिगमा रहेका युवाहरुलाई पहिलो चरणमा राजनीतिक, वैचारिकका साथै मार्सल आर्ट (शारीरिक) प्रशिक्षण प्रदान गर्न शुरु गरेको छ ।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य एवम् स्कुलिङ विभागका सचिव हस्तबहादुर केसीले अहिलेसम्म १ देखि ५ नम्बर प्रदेशसम्म प्रशिक्षण सकिएको बताए ।

क्रान्तिकारी माओवादीले ७ वटै प्रदेशको प्रशिक्षण सक्दासम्म कम्तिमा ५ हजार युवालाई शारीरिक प्रशिक्षणबाट सुसज्जित गर्ने तयारी गरेको छ। केसीले सबै प्रदेशको प्रशिक्षणसक्दा ५ हजार बढी सहभागी हुने बताए ।

क्रान्तिकारी युवा लिगका प्रदेश चार संयोजक उत्तम थापाले पार्टीको सामरिक महत्वको कार्यान्वयन गर्नका निम्ति आवश्यक युवा दस्तालाई सशक्तिकरण गर्न प्रशिक्षण थालिएको बताए ।
प्रदेश ६ र ७ मा अझै प्रशिक्षण सञ्चालन गर्न बाँकी नै छ ।

प्रशिक्षणलाई प्रारम्भिक प्राविधिक प्रशिक्षणको संज्ञा दिन्छन् क्रान्तिकारी युवा लिगका केन्द्रिय अध्यक्ष समिर महर्जन । महर्जनले यसलाई तत्काल शैन्यदस्ता भनि हाल्न नमिल्ने बताए पनि शैन्य दस्ताको प्रारम्भिक रुप भएको बताए ।

माओवादीले यो तालिमलाई निक्कै गोप्य ढंगले चलाउने गरेको छ। प्रशिक्षण ६ देखि ७ दिनसम्म सञ्चालन गर्ने गरेका छन् । प्रशिक्षणमा प्रदेश ३, २ र ५ मा युवाहरुको सहभागिता निक्कै राम्रो रहेको थियो । भूमिगत शैलीमा चलाएको उक्त तालिममा क्रान्तिकारी युवा लिगकै नेतृत्व तहले सहभागी युवाहरुलाई प्रशिक्षण दिने गरेको छ ।

प्रदेश ४ मा पनि यसै साता यो प्रशिक्षण भएको छ । नवलपुरमा भएको प्रशिक्षणको देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष एवम् पार्टी स्थायी कमिटि सदस्य सिपी गजुरेलले उद्घाटन गरेका थिए । उनले कार्यक्रमको उद्घाटन गर्दै पार्टीले थालेको भ्रष्टाचार विरुद्धको कारवाही अभियानलाई निरन्तरता दिने जनाएका थिए ।