देशका ४८ हजार चालकलाई प्रशिक्षण

731
views

काठमाडौँ, १२ फागुन । नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सो प्रशिक्षण दिने भएको संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

नेपालमा दैनिक ७/८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै उक्त अभियान सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।

सातै प्रदेशमा रहेका सवारी साधनमा कार्यरत सवारी चालक र सहचालकलाई सडक अनुशासन र ट्राफिक नियमबारे जानकारी दिईने छ । अभियानअन्तर्गत सङ्गठनले ‘म जिम्मेवार यातायात मजदूर’ भन्ने स्टिकर निर्माण गरी सबै सार्वजनिक यातायातमा टाँस्ने भएको छ । स्टिकरमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदिन, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिनँ, महिला, बालबालिका तथा अशक्तलाई सम्मान गर्छु, बालश्रम प्रयोग गर्दिनँ, तीव्र गतिमा सवारी चलाउँदिन, तोकिएको भन्दा बढी भाडा लिन्नँ, सधैँ ट्राफिक नियमको पालना गर्छु लगायतका वाक्यहरू प्रयोग गरिएका छन् ।

यस्तै, यातायात मजदूरलाई हुने रक्तचाप, मधुमेह, आँखा, मुटु, मिर्गौलाजस्ता रोग परीक्षणका लागि शिविर राखी निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्त सडक दुर्घटनाबाट वार्षिक दुई हजार ५०० देखि तीन हजारसम्म मानिस मर्ने गरेको बताउँछन् ।

यातायात व्यवस्था विभागका अनुसार हाल मुलुकभर ३२ लाख तथा काठमाडौँ उपत्यकामा नौ लाख सवारी साधन सञ्चालनमा रहेका छन् ।