जनताको संविधान आएकै छैन–कँडेल

517
views

सिराहा । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर एक र दुईका इन्चार्ज हरीभक्त कडेंलले जनताले चाहेको जस्तो नयाँ नेपाल निर्माण गर्न अर्को प्रकृयामा जुट्नुपर्ने बताएका छन । कंडेलले अहिलेको संविधान दलाल, तस्कर र पूँजिपति वर्गको हितको संविधान भएको बताएका हुन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले देशव्यापी रुपमा सञ्चालन गरेको मेची महाकाली जनजागरण अभियानको क्रममा सिराहाको पुरानो चोहर्वा चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।

जनताको न्यायपूर्ण क्रान्तिको प्रकृया सफलतातर्फ उन्मुख भएको बेला बाहिरी शक्ति र आन्तरिक प्रतिकृयावादी शक्तिले सड्यन्त्रपूर्वक जनताको परिवर्तनको चाहनामा कुठाराघात गरेको उनले बताए ।

उनले संविधान सभाको निर्वाचनलाई नौटंकी र त्यसबाट बनेको संविधान जनधाती व्यवस्थाको कबजको रुपमा व्याख्या गरे । उनले भने–‘कथित वामहरुको सरकार र वर्तमान संविधान जन चाहना अनुसार छैन, यो परिवर्तनगामी जनतामाथिको धोका हो । यसले यो संविधानले जनअधिकार हनन गरेको छ, यो आम नेपालीको पक्षमा छैन ।’