मन्त्री अधिकारीको अन्त्येष्टि कास्कीमा हुने

514
views

पोखरा, १६, फागुन । बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुनेभएको छ ।

मन्त्री अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए ।

कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका हुन् ।

अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौँ खुलामञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ ।