मेची–महाकाली अभियानः ६ स्थानमा जनसभा

763
views

नवलपरासी । देशभक्त जनगणतान्त्रिक मोर्चाको मेचीकाली जनजागरण अभियान आइतवार ६ स्थानमा र्यालीसहित जनसभा सम्पन्न गरिएको छ । रुपन्देहीको देवदहस्थित खैरेनीको कोणसभापछि पश्चिम नवलपरासीको अस्नैया, सुनवलबजार, सदरमुकाम परासी, भुमहीबजार गोपीगञ्ज बजार र बर्दघाटचोकमा र्यालीसहितको जनसभा भएको हो ।

यसअघि नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीको अगुवाइमा सुनवल ७ अस्नैयामा देजमो नवलपरासीले भब्य स्वागत गरेको थियो । स्वागतपछि अस्नैयाचोकमा भएको जनसभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पिताम्बर आचार्य र देजमो नवलपरासीका संयोजक राजुप्रसाद खनालले सम्बोधन गरेका थिए । टोलीले रुपन्देहीको देवदहको खैरेनी चोकमा सम्बोधनपछि अभियान टोली पश्चिम नवलपरासीको सुनवल आइपुगेको थियो । खैरेनीमा नेता परि थापाले सम्बोधन गरेका थिए ।

त्यस्तै अस्नैयाँमा कार्यक्रम गरेपछि अभियान टोलीले सुनवलबजारमा भएको जनसभामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणी दुःखीले नेपालको १० हजार १९ बर्गकिलोमिटर सिमा मिचिंदा शासकहरु नबोलेको बताएका थिए । कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेलले समेत मन्तव्य राखेका थिए ।

त्यस्तै पश्चिम नवलपरासीको सदरमुकाम परासीको बुद्धचोकमा भएको कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य समेत रहेका नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य परि थापाले कम्युनिष्ट भनिएको वर्तमान सरकार कामभन्दा गफ गर्न माहिर रहेको बताएका थिए । देशभक्त जनगणतान्त्रिक मोर्चाका सचिव समेत रहेका थापाले सरकारको नेतृत्वकर्ता केपी ओलीलाई गफाडीको संज्ञा दिएका थिए ।

देश स्वाधीन हुनका लागि असमान सन्धिहरुको खारेजी हुनुपर्ने बताउँदै पूर्व सांसद थापाले सरकार संस्थागत अपराध र भष्टचारमा लिप्त भएको बताएका थिए । आफूलाई कम्युनिष्ट बताउने ओली-दाहालले मेडिकल माफियाको हितमा काम गरेको बताउदै उनले समाजवादका लागि गफ नभई काम गर्नुपर्नेमा जोड दिएका थिए । मार्सी चामलवाला मेडिकल माफियालाई मेडिकल सञ्चालनको इजाजतपत्र दिने ओलीदाहालले समाजवादको भम्र जनतामा दिनु हास्यपद भएको बताएका थिए ।

कार्यक्रममा नेता मोअिव अलिले समेत सम्बोधन गरेका थिए । बुद्धचोकको सभा अखिल क्रान्तिकारीका नेता महेश श्रेष्ठले सञ्चालन गरेका थिए । त्यस्तै अभियान टोलीका तर्फबाट भुमहीबजारमा आयोजित कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य धनेश्वर पोखरेलले दलाल सत्ताको विरुद्धमा संर्घषको विकल्प नभएको कुरामा जोड दिएका थिए ।

त्यसैगरी देजमो अभियान अन्तरगत बर्दघाटको चिसापानीबाट र्याली निकालिएको थियो । नाराबाजीसहित निकालिएको सो र्यालीपछि बर्दघाटमा जनसभा गरिएको थियो ।

त्यस्तै प्रतापपुरको गोपीगंजबजारमा भएको कोणसभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणी दुखी, देजमोका केन्द्रीय सदस्य बृजदेव पाण्डेय र बिनायक कुँवर लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन बोल्गा नेपालले गरेका थिए ।