नेकपा भित्र प्रतिक्रियावादीले प्वाल पार्ने षडयन्त्र बनाइरहेको खुलासा

681
views

झापा, फागुन २१ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकतापछि गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रतिक्रियावादीले प्वाल पार्ने षडयन्त्र बनाइरहेको खुलासा गरेका छन्।

दानाबारीस्थित इलाम र झापाको सिमानामा नेकपाले आयोजना गरेको ४६ औँ सुखानी शहीद स्मृति दिवस तथा श्रद्धाञ्जलिसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
पार्टी एकतालाई मजबुत बनाउन हामी लागि परेको उल्लेख गर्दै तत्कालीन माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘कम्युनिस्ट आन्दोलनलाई व्यर्थ जान नदिन हामी एकजुट भएका छौं।’
‘जनताको अधिकार र समृद्धिका लागि वर्तमान सरकार लागि परेको छ’, उनले भने, ‘कम्युनिस्ट वहुमतको सरकारबाट हुने कमि कमजोरीलाई पार्टीभित्र छलफल र समीक्षा गरी जनताको पक्षमा लैजान प्रयासरत छौं।’
सुखानीको यस शहीद भूमिमा उभिएर प्रचण्डले भने, ‘तत्कालीन एमाले-माओवादी पार्टी एकता नगराउन मलाई धेरै लोभ लालच देखाइयो। पाँच वर्षसम्म प्रधानमन्त्री बनाउने लिखित सहमति पनि दिने भयो।
तर मैले मानिन्’ उनले भने, ‘मैले पद र प्रतिष्ठाको लागि पार्टी एकता गरेको होइन। कम्युनिस्टलाई एकजुट बनाउन पार्टी एकता गरेको हुँ।’ ‘दुई पटक प्रधानमन्त्री बनिसकेको छु। प्रधानमन्त्रीको लागि लोभ छैन। अब जनताको पक्षमा काम गर्ने छु’, उनले थपे।