नेपालको राष्ट्रियता भारतको प्लकमा–थापा

781
views

नवलपरासी, २२, फागुन । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य परि थापाले नेपालको राष्ट्रियता भारतको विजुलीको प्लकमा अड्किएको बताउनु भएको छ ।

क्रान्तिकारी पत्रकार महासंघले मंगलबार पूर्वी नवलपरासीको कावसोतीमा भएको पत्रकार भेटघाटमा बोल्दै थापाले नेपालको राष्ट्रियता झनै संकटमा परेको बताउनुभयो ।

नेपालको नक्साबाटमा ३ सय ७२ हेक्टर भूभाग गायब भएको भन्दै नेपालको नक्कली नक्सा प्रधानमन्त्री कार्यालयदेखि गाउपालिकाको कार्यालयसम्म टाँगिएको बताउनुभयो ।

प्रशान्त महासागरमा पानी जहाज चलाउने भनी प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यक्त गरेको अभिब्यक्तिको पनि कटाक्ष गर्नुभयो । नेपालको नक्सासमेत बनाउन नसक्नेले प्रशान्त महासागरमा पानी जहाज चलाउने कुरा गर्नु हाँस्यास्पद भएको नेता थापाको भनाइ थियो ।

अहिले झनै भ्रष्टाचार, बलात्कार, महंगी बढिरहेको भन्दै क्रान्तिकारी माओवादीका नेता थापाले त्यसका विरुद्ध जनसंघर्ष अघि बढाउने बताउनुभयो । भ्रष्टचार बढेको भन्दै गीत गाउँदासमेत यूट्युबबाट हठाउनु पर्ने अवस्था आएको भन्दै उहाँले पत्रकार कलाकारहरुले पनि लेख्दाखेरि डराउनुपर्ने अवस्था आउनु विडम्बना भएको बताउनुभयो ।

आगामी चैत्र २४ पछि आफ्नो पार्टीको मोर्चा देशभक्त गणतान्त्रिक मोर्चाको अगुवाईमा अनिश्चितकालिन आमहड्तालसम्मको आन्दोलन गर्ने थापाले बताउनुभयो । जनतामा आलोचनात्मक चेतना नभएकै कारण समस्या बढ्दै गएको नेता थापाको भनाइ थियो ।