काँग्रेस केन्द्रिय समितिको बैठक अनिश्चित

1050
views

काठमाडौं, २२, फागुन । काँग्रेस पार्टीभित्र दुई पक्षबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । सो पार्टीमा गुट–उपगुटको राजनीति चल्दै आइरहेको बेला पार्टीको अनुशासन समितिमा समेत शेरबहादुर देउवाले कनिष्ट सदस्यहरुको नाम प्रस्ताव गरेपछि बैठक बहिष्कारसँगै केन्द्रिय समितिको बैठक नै अनिश्चित बनेको छ ।

सभापति देउवाले अनुशासन समितिका लागि एकतर्फी ढङ्गले आफूअनुकूलका केही कनिष्ट सदस्यहरूको नाम प्रस्ताव गरेकोले गत साता केन्द्रीय कार्यसमितिको बैठक नै अवरुद्ध हुन पुगेको थियो ।

देउवाले अनुशासन समितिको संयोजकमा भीष्मराज आङ्दम्बे तथा सदस्यहरूमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेलको नाम प्रस्ताव गरेका थिए । उनले आफ्नोतर्फका तीनजनाको नाम प्रस्तुत गर्दै कोइराला पक्षलाई दुईजनाको नाम दिन भनेपछि बैठकमा व्यापक विवाद उत्पन्न भएको थियो ।

कोइराला पक्षधरहरूले अनुशासन समितिमा वरिष्ठतम् व्यक्तिहरूमध्येबाट चयन गरिनुपर्ने या त्यसो नभए समितिको सर्वसम्मतिमा हुने निर्णय मात्र कार्यान्वयन गर्ने व्यवस्था हुनुपर्ने धारणा राखेका थिए ।

कोइराला पक्षले बैठक बहिष्कार गरेकपनि देउवा पक्षले बहुमतका आधारमा निर्णय लिन खोजेको थियो ।

बैठक अवरुद्ध भएको हप्ता दिनपछि छपन्न जिल्लाका पार्टी सभापतिहरूले पार्टी केन्द्रीय कार्यालयमा संयुक्त निवेदन दिई महासमिति बैठकका निर्णय कार्यान्वयन गर्न माग गरेका छन् ।