टीकापुर घटनाः रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

755
views

धनगढी, २२, फागुन । जिल्ला अदालत कैलालीले सांसदको सपथ खाइसकेका रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । उनीहरुलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । कैलालीको टीकपुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुख्य अभियुक्त रेशम चौधरीलाई बनाइएको थियो ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उक्त घटनामा ३ जना अभियुक्तले सफाइ पाएका छन् । टीकापुर हत्याकाण्डपछि पक्राउ परेर हाल थुनामा रहेका १२ जनालाई २ देखि ३ वर्षसम्म कैद सजाय भएको छ

उनीहरु हाल कैलाली कारागरामै कैद भुक्तान गरिरहेका छन् । उनीहरुले अदालतबाट तोकिए बमोजिमको सजाय भुक्तान गरिसकेकाले रिहा हुने भएका छन् ।

टीकापुर हत्याकाण्डमा प्रहरीले ५८ जनाविरुद्ध कर्तव्य ज्यान, डाका चोरी र ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो । ५८ जनामा २७ जना पक्राउ परिसकेका छन् । रेशमले भने अदालतमा पुगेर आत्मसर्मपण गरेका थिए । यो हत्याकाण्डमा संलग्न भनिएका ३१ जना अझै फरार रहेका छन् ।