कांग्रेसद्धारा सरकार र राउतबीचको सहमति सच्याउन माग

461
views

काठमाडौं । नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच शुक्रवार भएको राजनीतिक सहमतिको सत्तारुढ दल भित्र मात्र नभई प्रमुख प्रतिपक्षी दलबाट पनि आलोचना भइरहेको छ ।

नेपाली कांग्रेसका प्रवक्ताले ओली सरकार र सीके राउत समूहबीच भएको सहमतिबारे उठिरहेका प्रश्नहरूको सरकारले तत्कालै स्पष्ट जबाफ दिनु पर्ने माग गरेका छन्। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले त्यो सहमतिको खासगरी मतभेदलाई जनमतमा आधारित लोकतान्त्रिक विधिबाट हल गरिने भन्ने हरफ प्रष्ट्याउनु पर्ने माग गरेका छन्। ‘जनमत संग्रह’ होइन भने सरकारले ‘होइन’ भन्नुपर्यो, हो भने प्रस्ट ढंगले प्रस्ट्याउनु पर्यो देशको कुनै भूगोलमा जनमत संग्रह के मुद्दामा,कस्तो छनौटमा,कसरी,कहिले र किन ?

सरकार सिके सम्झौतामा उल्लेखित जन अभिमतमा आधारित लोकतान्त्रिक विधिको ब्याख्याको विवाद हल सरकारले तत्काल गरोस्, उनले भनेका छन । सरकार र राउत नेतृत्वको समूहबीच भएको राजनीतिक सहमतिको एउटा बुँदामा सार्वभौम अधिकारको प्रयोग गर्दै मतभेदलाई सहिष्णु ढङ्गबाट जनमतमा आधारित लोकतान्त्रिक विधिबाट हल गरिने भन्ने शब्दावली रहेको छ।

त्यो नै प्रमुख विवादित बुँदा भएको बताउँदै पश्चिम नेपालको म्याग्दी पुगेका कांग्रेस नेता शर्माले आइतवार त्यस्तो बताएका हुन । उनले भने–‘सहमतिबारे यति धेरै प्रश्नहरू उठिरहेका छन्। जनमतमा आधारित लोकतान्त्रिक विधि भनेको के हो ? त्यस्को अर्थ सीके राउतले भने जस्तो जनमत सङ्ग्रह हो कि होइन ?’

उनको भनाइमा जनमतमा आधारित लोकतान्त्रिक विधिको अर्थ यदि नेपालको कुनै भूभागमा जनमत सङ्ग्रह हो भने त्यो शब्दावलीलाई सरकारले तत्काल सच्याउनु पर्छ।

सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो ? देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनु को रहस्य खोज्नुपर्ने उनको भनाइ छ ।

उनले भने–‘जन अभिमतमा आधारित लोकतान्त्रिक विधि भनेको के हो त ? नेकपाभित्रै पनि यो प्रश्न उठिरहेको छ। प्रमुख प्रतिपक्षी दलका तर्फबाट प्रवक्ता वा अरूले जिज्ञासा राखिरहेका छन्। बुद्धिजीविहरूले र सञ्चारमाध्यमहरूले यसबारेमा चासो राखिरहेका छन्।’ ‘यस्तो अवस्थामा राज्यको त कर्तव्य हो नि त यसबारे सुस्पष्ट ढङ्गले प्रष्ट्याउने र यदि कमजोरी भएको छ भने त्यसलाई सच्याउने।’

यस अघि सत्तारुढ दलकै एक नेता भीम रावले राजनीतिक सहमति प्रति आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए। बीबीसीबाट