अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन ८.६ अर्ब डलर माग

754
views

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन आठ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै सो रकम उपलब्ध गराउन अमेरिकी कँग्रेस समक्ष पुनः आग्रह गरेका छन् । ट्रम्पले उक्त बजेट मागसँगै राष्ट्रपति ट्रम्प र कँग्रेसबीच फेरि सङ्घर्ष चर्किने खतरा बढेको छ ।

आज (सोमबार) सार्वजनिक गरिने सन् २०२० को बजेटमा गत वर्ष माग गरिएको ५ अर्ब ७० करोड डलरभन्दा यो निकै बढी हुने बताइन्छ । पर्खाल निर्माणका लागि अघिल्लोपटक माग गरिएको रकमका विषयमा कङ्ग्रेसमा सहमति नहुँदा अमेरिकी सङ्घीय कार्यालयहरु ३५ दिनसम्म आंशिक रुपमा बन्द भएका थिए ।

अमेरिकी इतिहासमै सबैभन्दा लामो अवधिसम्म कार्यालय बन्द हुँदा आठ लाखभन्दा बढी कर्मचारी प्रभावित भएका एपीएफले जनाएको छ ।

डेमोक्याट्रिक पार्टीका तर्फबाट सभामुख भएकी न्यान्सी पेलोसी र सिनेटमा डेमोक्र्या्टिक पार्टीका नेता चक सुमर दुबैले राष्ट्रपतिको आग्रहप्रति आपत्ति जनाइसकेका छन् । राष्ट्रपति ट्रम्पले जबर्जस्ती गरे कङ्ग्रेसले बजेट अस्वीकृत गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले नयाँ प्रस्तावले फेरि संसदमा विवाद उत्पन्न हुनसक्ने स्वीकार गर्दै शक्ति सङ्घर्ष चर्कने प्रतिक्रिया दिए । तर राष्ट्रपति ट्रम्प आफ्नो चुनावी वचनबद्धताप्रति अहिले पनि अडिग रहेका उनको भनाई छ ।

अमेरिकी कङ्ग्रेसमा डेमोक्र्याट पार्टीको बहुमत रहेकाले ट्रम्पको नयाँ योजना पारित हुने सम्भावना ज्यादै न्यून छ । न्यान्सी पेलोसी र चक सुमरले जारी गर्नुभएको संयुक्त वक्तव्यमा अति खर्चिलो र अप्रभावकारी पर्खाल निर्माणको निहुँ बनाएर राष्ट्रपति ट्रम्पले लाखौं लाख अमेरिकीको चित्त दुखाएको बताएका छन् ।

कङ्ग्रेसले यो पर्खालमा लगानी गर्न अस्वीकृति जनाएर राष्ट्रपतिलाई हार स्वीकार्न बाध्य पारेको थियो । तर अहिले राष्ट्रपतिले पुरानो कुरा दोहोर्याउन चाहेको देखिन्छ ।

अमेरिकी अखबार वासिङ्टन पोस्टका अनुसार राष्ट्रपतिले आन्तरिक सुरक्षा विभाग मार्फत ५ अर्ब र रक्षा मन्त्रालयबाट ३ अर्ब ६० करोड डलर बजेट विनियोजन गरी त्यसलाई पर्खाल निर्माणमा लगाउने भित्री योजना बनाएका छन् ।

ह्वाइट हाउसका कतिपय अधिकारीहरुले कङ्ग्रेसले पर्खाल निर्माणका लागि बजेट विनियोजन नगरे राष्ट्रपतिले सीमामा आपतकालीन स्थिति घोषणा गरी बजेटमा विशेषाधिकार (भिटो) लगाउन सक्ने बताएका छन् ।