धौलागिरीमा दुईदिन विद्युत् सेवा ठप्प हुने

2498
views

सीताराम थापा
साबिकको धौलागिरी अञ्चलको चार जिल्लाहरुमा शनिबारबाट दुई दिन विद्युत सेवा अवरुद्ध हुने योजना रहेको छ । धौलागिरीको बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ जिल्लाहरुमा दुई दिन अंध्यारो हुने जिल्लाहरु हुन ।

नेपाल विद्युत प्राधिकरण बागलुङले विद्युत प्रसारण लाइनको क्षमता वृद्धिका लागि चार जिल्लामा विद्युत् सेवा ठप्प गर्ने भएको हो । चैत २ र ३ गते गरी दुई दिनसम्म पूर्णरूपमा विद्युत लाइन काटेर नयाँ ट्रान्सफर्म फेर्ने योजना रहेको प्राधिकरणले बताएको छ ।

नेपाल विद्युत् प्राधिकरण, पर्वतले शनिबार बिहान ७ बजेदेखि चैत ३ गते साँझ ६ बजेसम्म विद्युत् सेवा बन्द रहने जानकारी गराएको छ ।

नेपाल विद्युत् प्राधिकरण मोदीखोला जलविद्युत् केन्द्रको स्वीचयार्डमा हाल जडानमा रहेको १५ एमभिए क्षमताको ट्रान्सफर्मरको स्थानमा ३० एमभिए क्षमता भएको ट्रान्सफर राख्न लागिएकाले ३३ केभी सव स्टेशनबाट विद्युतको प्रसारण पूर्णरूपमा बन्द गरेर काम गरिने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका निमित्त प्रमुख प्रमोदराज पंगेनीले जानकारी दिएका छन ।

नियमित दुई दिनसम्म विद्युत् बन्द हुँदा धेरै क्षेत्रमा प्रत्यक्ष असर पर्ने भए पनि ट्रान्सफर्मर परिवर्तनका लागि विद्युत बन्द नगरी काम नहुने भएकाले बाध्यताका कारण विद्युत् बन्द गरेर काम गर्नु परेको उनको भनाई छ ।

विद्युत् लाइन कटौती भएको समयमा यस क्षेत्रका बासिन्दालाई पर्न जाने असरप्रति प्राधिकरणले क्षमायाचना गर्दै उक्त समयमा अत्ति आवश्यक परेमा वैकल्पिक व्यवस्था अपनाउन पनि सुझाव प्रेशित गरेको छ ।