बजेट अभावमा भारत र चिन दुवैतिरको रेलमार्ग अलपत्र

529
views

काठमाण्डौं, ५, चैत । बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन फिजिबिलिटी स्टडी गर्ने भनिए पनि काम अघि बढ्न सकेको छैन । नेपाल र चीनबीचका रेलवे अधिकारीबीच केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिने सहमति झण्डै एक वर्षअघि भएको थियो । तर अहिले बजेट अभावका कारण अध्ययन नै हुन सकेको छैन ।

केपी ओली नेतृत्वको सरकारको ठूला सपनामध्येको एक हो नेपालमा रेलमार्ग बनाउने र रेल चलाउने । केरुङ–काठमाडौं रेलमार्गको चर्चा धेरै भयो । तर काम केही पनि हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययन बजेट अभावका कारण हुन नसकेको जानकारी गराएको छ ।

मन्त्रालयले तत्काल १७ अरव बजेट उपलब्ध भए मात्रै अध्ययन अघि बढाउन सकिने पनि स्ष्ट पारेको छ । चीन सरकारको सहयोगमा प्रि भिजिबिलिटी अध्ययन भने सम्पन्न भइसकेको छ । तर नेपाल सरकार भने मुकदर्शक भएर बस्दा सम्भाव्यता अध्ययन अलपत्र परेको हो ।

सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बजेटको अभावमा वीरगंज–काठमाडौं रेलमार्ग निर्माणका लागि फिजिबिलिटी अध्ययनको कामलाई अघि बढाउन नसकिएको पनि स्पष्ट पार्नु भयो । सो रेलमार्गको प्रि फिजिबिलिटी भारत सरकारको सहयोगमा सम्पन्न गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणको फिजिविलिटी अध्ययनका लागि करिव ३५ अरव लाग्ने अनुमान गरिएको छ ।

सचिव अधिकारीले मन्त्रालयले चालू आर्थिक वर्षको हालसम्म ३८ प्रतिशत पूँजीगत खर्च गरेको छ । प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने काममा ढिलाई भएकाले पूँजीगत खर्च अपेक्षा अनुसार गर्न नसकिएपनि अव त्यस कार्यले पनि गति लिने दावी मन्त्रालयको छ ।

केरुङ(काठमाडौं रेलमार्ग करिब ७२ किलोमिटरको हुनेछ । यसमा चारवटा स्टेशनहरु रहनेछन् । रेलमार्गको अधिकांश भाग सुरुङमा हुनेछ । यस्तै ४ किलोमिटर खण्ड पुलमा हुनेछ । चिनियाँ कम्पनीले तयार पारेको प्रतिवेदन अनुसार ९९ प्रतिशत सुरुङ र पुलमा रेलमार्ग निर्माण हुनेछ । रेलमार्गको १ किलोमिटर खण्डमात्रै जमिनमा हुनेछ । समुन्द्र सतहबाट केरुङ करिब ३००० फिट उचाईमा पर्छ । काठमाडौं करिब १२०० मिटर उचाईमा छ । ओरालोमा रेलमार्ग निर्माण गर्नु आफैँमा चुनौतिपुर्ण मानिन्छ । यसका लागि उच्च प्रविधि आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । reportersnepal.com/2019/03/309057 बाट